तपाईँ सुन्दै हुनुहुन्छः

पिएसबी नेपालको प्रथम वार्षिकोत्सवमा अध्यक्ष डा. विष्टको  मन्तव्य

काठमाडौँ I सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू 

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलज्यू,

सम्माननीय राष्ट्रपतिज्यूका विज्ञज्यूहरू, मन्त्रालयका सचिवज्यू, 

सञ्चालक समितिका सदस्यज्यूहरू, 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा पदाधिकारी एवं वरिष्ठ पत्रकारज्यूहरू, 

संस्थाका पूर्व अध्यक्ष, महाप्रबन्धक, कार्यकारी निर्देशक तथा पदाधिकारीज्यूहरू, 

सञ्चार मन्त्रालय सम्बद्ध निकायका कार्यकारी अध्यक्ष, प्रबन्ध निर्देशक, महाप्रबन्धक, कार्यकारी निर्देशकज्यूहरू, 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित नेपाल सरकारका विभिन्न निकायका उच्चपदस्थ अधिकृतज्यूहरू,

सार्वजनिक सेवा प्रसारणका प्रमुख प्रशासकीय अधिकृत, क्रियाशील ट्रेड युनियन तथा सङ्घसंस्थाका अध्यक्ष एवं सहकर्मी मित्रहरू,

हामीसँग सहकार्यमा रहेका विभिन्न निकाय, सङ्घसंस्था, विज्ञापनदाता, विज्ञापन एजेन्सीसहित यहाँ उपस्थित एवं हामीलाई प्रत्यक्ष प्रसारणमार्फत हेरिरहनुभएका तथा सुनिरहनुभएका आदरणीय दर्शक स्रोता तथा सम्पूर्ण महानुभावहरू, 

सबैभन्दा पहिले म सार्वजनिक सेवा प्रसारण ऐन प्रारम्भ भएको एक वर्ष पुरा भएको अवसरमा आयोजित यस ऐतिहासिक प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा एनटिभी वर्ल्ड च्यानलको औपचारिक शुभारम्भ समारोहमा सम्माननीय राष्ट्रपतिज्यूमा हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु । यसैगरी माननीय मन्त्रीज्यूसहित यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु ।

विश्वमा सार्वजनिक सेवा प्रसारणको अभ्यास हुन थालेको लगभग एक शताब्दी भैसके पनि हाम्रो लागि यो नयाँ यात्रा हो । संघीय संसदले पारित गरेको सार्वजनिक सेवा प्रसारण ऐनमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएको ३१औँ दिनमा प्रारम्भ हुने कानुनी व्यवस्था बमोजिम यो ऐन २०८१ कात्तिक २३ गतेबाट प्रारम्भ भयो । तर, यसको अभ्यास भने नयाँ सञ्चालक समितिको नियुक्तिसँगै २०८१ पुसदेखि भयो । 

ऐतिहासिक विरासत बोकेका राज्यका दुई अग्रणी प्रसारण संस्थाहरू रेडियो नेपाल र नेपाल टेलिभिजन कानुनतः यसमा स्वतः रूपान्तरण भए । तर, व्यवहारमा रुपान्तरणका लागि थुप्रै कानुनी प्रबन्ध र तयारीहरू गर्नुपर्ने आवश्यकता थियो । 

हामीले यस अवधिमा सरोकारवाला पक्ष तथा विज्ञहरुको सहभागितामा कर्मचारीको सेवा शर्त र सुविधा सम्बन्धी विनियमावली, आर्थिक प्रशासनसम्बन्धी विनियमावली, कर्मचारीको दरबन्दी पुनरावलोकन तथा पुनर्संरचनाका लागि ओ एण्ड एम सर्भे, स्वैच्छिक अवकाश योजनाको कार्यविधि लगायत संक्रमणकालीन व्यवस्थाअन्तर्गत गर्नुपर्ने कानुनका मस्यौदा तयार गरिसकेका छौँ । यसलाई अव चाँडै नै मन्त्रालयमा पेश गर्ने तयारी छ । 

भिन्न कार्यवातावरण, कानुनी संरचना र मनोविज्ञानमा हुर्किएका दुई संस्थाका कर्मचारीलाई एउटै लय र प्रबन्धमा अघि बढाउनु निकै जटिल कार्य भएपनि यसलाई हामीले सहअस्तित्वका आधारमा सहकार्य र साझा मनोविज्ञानको विकास गर्दै सहजताका साथ अघि बढाएका छौँ । यस आर्थिक वर्ष भित्रै सम्पूर्ण कानुनी प्रबन्ध गरेर यो चक्र पुरा गर्ने हाम्रो योजना छ । 

लामो समयदेखि थाँती रहेका जग्गाको स्वामित्व हस्तान्तरण, कर्मचारीको पदपूर्तिलगायतका कतिपय कार्यहरू यसबीचमा हामीले सम्पन्न गरेका छौँ । यसले संस्थाको साख वृद्धि र कर्मचारीबीच उत्प्रेरणा जागृत गर्न मद्दत पुगेको हाम्रो विश्वास छ । 

सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भनेको दुई संस्थाको एकीकरण मात्र होइन, यसको पहुँच, प्रभाव, प्रस्तुति र पहिचानमा परिवर्तन पनि हो । सर्वव्यापकता, स्वायत्तता, स्वतन्त्रता, सर्वोत्कृष्टता, विविधता, जबाफदेहिता र नवीनता सार्वजनिक सेवा प्रसारणका अन्तर्राष्ट्रिय मान्यता हुन् । लोकतन्त्रको प्रवद्र्धन र नागरिक हकको वकालत यसको दायित्व हो । 

हामी सार्वजनिक सेवा प्रसारणको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई बोध गर्दैैै नागरिक पहिलो (People First) को अवधारणाका साथ आफूलाई रूपान्तरण गर्दै अघि बढेका छौँ । हाम्रा तीन माध्यम रेडियो, टेलिभिजन र डिजिटल प्ल्याटफर्म अनि तीन प्राथमिकता राष्ट्रिय एकता, समृद्धि र विपतमा नागरिकको जीवन रक्षा रहेका छन् । 

यसै अवधारणाका आधारमा हामीले यसबीचमा हाम्रो प्रविधि र प्रसारण केन्द्रहरूको सुधार एवं विस्तार गर्दै प्रसारण पहुँच क्रमशः बढाइरहेका छौँ । यसैगरी नयाँ पुस्ताको पहिलो रोजाइ र आमनागरिकको जीवनशैली बनेको डिजिटल प्ल्याटफर्ममार्फतको पहुँचलाई पनि नयाँ स्वरूपमा अघि बढाइरहेका छौँ । समाचारका विषयवस्तुको पुनः प्राथमिकीकरण गरेका छौँ । प्रस्तुतिको शैली बदलेका छौँ । हिजो राष्ट्रिय प्रसारणमा कहिल्यै नजोडिएका समुदाय, क्षेत्र, भाषा, संस्कृति र धरोहर आज हाम्रो मूल प्रवाह बनेको छ । हामी आफ्नो सभ्यता, मौलिक चिन्तन प्रणाली र राष्ट्रिय गौरवको ज्ञान र साझा मनोविज्ञानलाई पुनजागृत गर्न नागरिक शिक्षाका नयाँ आयामहरूलाई हाम्रा समाचार र कार्यक्रममार्फत अघि बढाइरहेका छौँ । 

मुलुकमा विभिन्न कालखण्डमा भएका जनआन्दोलन र विद्रोहमार्फत नेपाली जनताले परिवर्तनका आकाङ्क्षाहरू व्यक्त गरेका छन् । पछिल्लो समय भदौ २३ गते जेनजी पुस्ताले गरेको विद्रोहको आजै दुई महिना पुगेको छ । हरेक आन्दोलन र विद्रोहको मूल सन्देश सवैखाले विभेदको अन्त्य, सामाजिक बहिष्करणमा परेका वर्ग समुदायको मूल प्रवाहीकरण, लोकतन्त्रको सही अभ्यास एवं सुशासन र समृद्धिमार्फत नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने नै रहेको छ । हामी हाम्रा विषयवस्तुमार्फत त्यस भूमिकामा खरो उत्रिनुपर्ने छ । 

सार्वजनिक सेवा प्रसारणको विषयवस्तु र प्रस्तुतिमा सुधारको प्रारम्भ हामीले पीएसबी कार्यान्वयनको एक महिना नबित्दै गत माघ पहिलो साता विषय विज्ञ र सरोकारवालाहरूको व्यापक सहभागितामा तीन दिनसम्म शृङ्खलाबद्ध छलफलसहितको प्रि–लञ्चिङ समारोह आयोजनसहित गर्‍यौँ । त्यो क्रमलाई निरन्तरता दिएका छौँ । 

सम्माननीय राष्ट्रपतिज्यू तथा उपस्थित महानुभावहरू,

आज हामी सार्वजनिक सेवा प्रसारण नेपालको अर्को महत्वपूर्ण एवं ऐतिहासिक चरणमा प्रवेश गरेका छौँ । प्रथम वार्षिकोत्सवको यो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट सार्वजनिक सेवा प्रसारणको औपचारिक शुभारम्भ हुँदैछ । र, यही अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाटै सार्वजनिक सेवा प्रसारण नेपालको अङ्ग्रेजी च्यानल एनटिभी वर्ल्डको प्रसारण शुभारम्भ पनि हुँदैछ । 

एनटिभी वर्ल्डको शुभारम्भ नेपाल टेलिभिजनले विगत छ वर्षदेखि गरिरहेको पहलको परिणाम हो । हामीलाई लाग्छ, यो सार्वजनिक सेवा प्रसारण नेपाल र नेपाली मिडिया जगतको मात्र होइन, सिङ्गो मुलुकको लागि नयाँ अध्याय हो । 

म यस क्षणमा अलि भावुक भइरहेको छु, नोस्टाल्जिक पनि भएको छु । एनटिभी वर्ल्डको सपना पुरा भएकोमा गौरवान्वित महसुस पनि गरिरहेको छु । 

यसले समय लियो । तर, सार्थकता पायो । हामी सबैलाई बधाई अनि यसको सुरुवाती चरणदेखि यसलाई यो तहमा पु¥याउन योगदान गर्नुहुने सवैप्रति हार्दिक आभार तथा धन्यवाद । 

एनटिभी वर्ल्ड नयाँ च्यानल मात्र होइन, नयाँ सम्भावनाको ढोका पनि हो । Nepal’s Perspective to the World भन्ने अवधारणासहित शुरु भएको यो च्यानल विश्वभरका नेपालीको साझा आवाज बन्नेछ र नेपाललाई विश्वसामु सही रुपमा चिनाउन, प्रवद्र्धन गर्न र नेपाललाई विश्व मञ्चमा स्थापित गर्न महत्वपूर्ण कडी बन्नेछ भन्ने हाम्रो विश्वास छ । एनटिभी प्लसको फ्रिक्वेन्सीमा आजै साँझ ७ बजेदेखि फ्रेस कन्टेन्टसहित ४ घण्टा नियमित प्रसारण हुने एनटिभी वर्ल्ड न्युजपोर्टल र युट्युबसहितका डिजिटल प्ल्याटफर्महरुमार्फत २४सै घण्टा विश्वभरका दर्शकहरुबीच पुग्ने छ । एनटिभी वर्ल्डले प्रस्तुत गर्ने विषयवस्तुको स्वरूप र प्राथमिकताको झलक भिडियो क्लिपमार्फत यहाँहरू सामु अहिले नै प्रस्तुत गरिने भएकोले त्यसमा म विस्तृतमा जान चाहन्न । अहिलेलाई यस सन्दर्भमा यति मात्र भन्न चाहन्छु, कृपया हामीलाई हेरिदिनुस्, सुनिदिनुस्, भिजिट गरिदिनुस्, फलो, सब्सक्राइव, शेयर, लाइक, कमेन्ट जे सकिन्छ सबै गरिदिनुस् । हामीलाई तपाईँहरूको मार्गदर्शन, प्रतिक्रिया र समर्थनको खाँचो छ । 

अन्तमा, सम्माननीय राष्ट्रपतिज्यू, माननीय मन्त्रीज्यूसहित यहाँहरूको यस महत्वपूर्ण उपस्थितिमा भइरहेको यस भव्य समारोहमा पुनः एकपटक सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र मान्यताबमोजिम आमनागरिकको चाहना अनुसार संस्थालाई रूपान्तरण र विकास गर्न सम्पूर्णरुपमा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु । र, यसमा सबैबाट सहयोगको अपेक्षा पनि गर्दछु । 

दुनियाँमा सार्वजनिक सेवा प्रसारणको सफलता र विफलता यसको स्वायत्तता, स्वतन्त्रता र दिगो आर्थिक स्रोतमा निर्भर हुने गरेको छ । 

नेपालमा सार्वजनिक सेवा प्रसारण ऐन जारी गर्दा स्पष्ट गर्नुपर्ने कतिपय कुराहरू अधुरो र अस्पष्ट छोडिएको छ । यसको स्वायत्ततामा आशङ्का हुने विषय त्यहाँ छन् । सबैभन्दा महत्वपूर्ण पक्ष स्रोतको दिगो व्यवस्था छैन । स्रोतको स्पष्ट र दिगो व्यवस्था नभई यसको स्थायित्व कायम हुन सक्तैन । सार्वजनिक सेवा प्रसारण संस्था स्थापनापछिको पहिलो बजेटमा यसलाई संवोधन गर्ने चेष्टासम्म गरिएन । सार्वजनिक सेवा प्रसारणको मान्यतालाई समेट्न सकिएन । यसलाई सच्याउन आवश्यक छ । यसको स्वायत्तता, स्वतन्त्रता र दीगोपनका लागि म सम्बद्ध सवैसँग विशेष आग्रह गर्न चाहन्छु । 

यस ऐतिहासिक समारोहमा समुपस्थिति, मार्गदर्शन र हौसलाका निम्ति म सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कृतज्ञतासहित पुनः हार्दिक स्वागत गर्दछु । यसैगरी माननीय मन्त्रीज्यू, सचिवज्यूसहित यहाँ उपस्थित र विभिन्न माध्यमबाट यसमा सहभागी सवैप्रति आभारसहित हार्दिक स्वागत गर्दछु । 

धन्यवाद ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button