बर्दिबासमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव
जनकपुरधाम । सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय मधेश प्रदेश बर्दिबासले विभिन्न कार्यक्रम सहित आज मनाएको छ ।
प्रादेशिक प्रसारण कार्यालयमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी वक्ताहरूले प्रादेशिक प्रसारण सेवाको मर्म अनुसार अगाडी बढ्नका लागि व्यवस्थापन पक्षलाई सुझाव दिनुभएको हो ।
कार्यक्रममा विश्वका धेरै देशहरूमा सार्वजनिक सेवा प्रसारणको अभ्यास रहेको बताउँदै सोही अनुसारको अभ्यास नेपालमा हुनु पर्ने र सार्वजनिक सेवा प्रसारणका लागि सरकारले एकमुष्ट रुपमा बजेटको व्यवस्थापन रातो किताबमा नै गर्नु पर्ने धारणा राख्नुभयो ।
प्रादेशिक प्रसारण कार्यालय बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामले सार्वजनिक सेवा प्रसारण नेपाल बनेको एक वर्ष भएपनि कर्मचारीहरूले यसको अनुभूति गर्न नपाए पनि अगामी दिनमा दुवै संस्थाको हित हुने गरि काम हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले सार्वजनिक सेवा प्रसारण नेपालको नामले नै यो जनताको संस्था भएकाले यसका प्रसारण सामाग्रीहरू जनता केन्द्रित हुन जरुरी रहेको बताउनुभयो । सेवा निवृत्त कर्मचारीका तर्फबाट पूर्व वरिष्ठ प्राविधिक अधिकृत महानन्द यादवले सेवा निवृत्त कर्मचारीहरूले पाउनु पर्ने पेन्सन समयमा नै प्रदान गर्नका लागि व्यवस्थापन पक्षसँग आग्रह गर्नुभयो ।
सार्वजनिक सेवा प्रसारण नेपाल नेपालको प्रादेशिक प्रसारण कार्यालय मधेश प्रदेशका समाचार संयोजक अरविन्द मिश्रले सार्वजनिक सेवा प्रसारण नेपालका नेतृत्वले संस्थाको सुधारका लागि सकारात्मक शोच सहित काम गर्न चाहेको बताउनुभयो ।
महिला तथा करार कर्मचारीको तर्फबाट भोजपुरी समाचारका समाचार बाचिका नम्रता कर्णले करारका कर्मचारीहरूको समस्या तथा सेवा निवृत्त भएपछि संस्थाबाट पाउनु पर्ने सुविधाका विषयमा व्यवस्थापन पक्षको ध्यानाकर्षण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्