तपाईँ सुन्दै हुनुहुन्छः

झापा महिला गोल्डकप सम् एपीएफ फाइनलमा

भद्रपुर, झापा । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपको आज भएको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जीत निकालेको छ ।

त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त सुनिश्चित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा ६३ औँ मिनेटमा आर्मीले अग्रता लियो । डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन् ।

इन्ज्युरी समयमा आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो । कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ को बराबरीमा पुग्यो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके ।

एपिएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन् । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग सोमबार फाइनल खेल खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button