सङ्कट छल्दै सेवामा तल्लीन अस्पताल
दोलखा । सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पतालले आर्थिक अभावकै बीचमा सेवालाई निरन्तरता दिई रहेको छ । न्युन आन्तरिक स्रोत भएको अस्पतालमा लामो समय देखि स्वास्थ्य बिमा बापतको रकम प्राप्त नभएको र सरकारले पठाउनु पर्ने निःशुल्क औषधि समेत उपलब्ध हुन नसक्दा अस्पतालले ठुलै आर्थिक अभाव झेलिरहेको अस्पताल सञ्चालक समिति अध्यक्ष सुवास रिमालको भनाई छ ।
अस्पतालको बारेमा केही गुनासो सुनिएको छ, अध्यक्ष रिमालले भन्नु भयो– सामाजिक सञ्जालमा आएजस्तो सबै कुरा ठप्प हैन, तर आर्थिक अभावका कारण स्वास्थ्य बिमा गरिएका बिरामीहरूलाई आवश्यक सबै प्रकारका औषधि भने उपलब्ध गराउन सकिएको छैन । अस्पतालले उपलब्ध गराउने अन्य सबै प्रकारका सेवामा भने निरन्तरता छ– रिमालले भन्नुभयो ।
अस्पतालको तथ्याङ्कमा बिमा बोर्डले १५ महिना अघिदेखि स्वास्थ्य बिमा बापतको ८४ लाख भन्दा बढी रकम भुक्तानी गर्न बाँकी देखिन्छ । केही समय अघि बोर्डले १० हजार भुक्तानी गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले गत बर्ष ४० लाखको औषधि खरिद गरेको तर यो बर्ष आर्थिक अभावकै कारण औषधि खरिद गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. लक्ष्मण खड्काको भनाई छ । त्यसैले विगत छ महिना देखि स्वास्थ्य बिमा भएका बिरामीहरूलाई सबै प्रकारको औषधि उपलब्ध गराउन सकिएको छैन– मेसु डा. खड्काले भन्नुभयो ।
हामी बिमा बापतको रकम प्राप्त भएपछि औषधि खरिद गर्ने तयारीमा थियौ अस्पताल सञ्चालक समितिका अध्यक्ष रिमालले सुनाउनु भयो– तर बिमा बोर्डले त ८४ लाख पठाउनु पर्नेमा १० हजार पो पठायो !
अस्पतालको वार्षिक आन्तरिक स्रोत लगभग तीन करोड हुने तर त्यो रकम बिजुली शुल्क, कर्मचारी तलब लगायतमै खर्च गर्नुपर्ने अस्पताल स्रोतको भनाई छ । अझ सरकारले निःशुल्क उपलब्ध गराउने आइरन, भिटामिन के, भिटामिन बि, कम्प्लेक्स, सिरिन्ज, ग्लोभस जस्ता ३२ प्रकारका औषधिमा कतिपय अति आवश्यक औषधि समेत प्राप्त हुन नसक्दा अस्पतालले थप सङ्कट बेहोर्नु परेको स्रोतको भनाई छ ।
आवश्यक निःशुल्क औषधिको लागि पटक– पटक माग फारम भरेर पठाइएको भएपनि सरकारले ती औषधिहरू उपलब्ध गराउन सकेको छैन– सञ्चालक समिति अध्यक्ष रिमालले भन्नुभयो ।
सङ्कटका बाबजुद अस्पतालले ओपिडीको अलवा एक्स– रे, भिडियो एक्स– रे, इसिजि, नर्मल डेलिभरी, सिएस डेलिभरी, दन्त सेवा, ओसिएमसि सेवा, खोप सेवा, परिवार नियोजन सेवा, जटिल शल्यक्रिया, गर्भवती जाँच, सुरक्षित गर्भपतन, हाडर्जोनी सेवा, डायलासिस सेवा, नाक– कान– घाँटी, छाला रोग, मानसिक रोग लगायतका सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ । उल्लेखित सेवाहरूमा केही निःशुल्क र केही कम शुल्कमा सेवा उपलब्ध गराउँदै आएको अस्पतालका मेसु डा. खड्काले बताउनु भयो ।
मासिक सरदर छ हजार बिरामीले सेवा लिने पशुपति चौलागाई स्मृति अस्पतालमा एमडिजिपि, सर्जन र एमबिबिएस गरी १९ जना डक्टर र ५१ बेड रहेको छ । अस्पतालबाट १२ सय जना स्वास्थ्य बिमामा आवद्ध बिरामीले सेवा लिँदै आएको र सात जनाले डाईलसिस सेवा लिने गरेको मेसु डा. लक्ष्मण खड्काले जानकारी दिनुभयो । भर्ना हुने बिरामीहरूलाई अस्पतालले निःशुल्क बेड र खानाको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा इकाई अन्तर्गतका बिरामी र त्यस्ता बिरामीको कुरुवाहरूलाई समेत निःशुल्क खानाको व्यवस्था गरेको अस्पतालले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्