तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको माहौल बनाउन युवाहरू सक्रिय 

वीरगञ्ज । वीरगन्ज,पर्सा,बारा लगायतका तराई मधेसका जिल्लाहरूमा विभिन्न दल आबद्ध युवाहरू आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन सक्रियतापूर्वक लागिरहेका छन् ।

लोकतन्त्रलाई सही मार्गमा ल्याउन र जेनजी आन्दोलनमा उठेका मागहरू सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नरहेको युवा नेताहरू प्रष्ट धारणा सार्वजनिक गरिरहेका छन् ।

हालै वीरगन्जमा गठित जेन्जी युवाहरूको महानगर कमिटीका अध्यक्ष मुराद आलमले चुनावको माहोल बनाउन वीरगन्जका टोल टोलमा पुगेर आफूहरूले अनौपचारिक अभियान शुरु गरिसकेको बताउनुभयो । 

जेन्जी आन्दोलनका सहिद असाहब आलमका दाइ मुराद आलमलाई जेन्जी युवाहरूको बृहत् भेलाले निर्विरोध रुपमा अध्यक्षमा चयन गरेसँगै उहाँकै नेतृत्वमा अहिले युवाहरू निर्वाचनको माहौल बनाउने अभियानमा जुटेका छन् । 

त्यसैगरी नेकपा एमालेले समेत युवाहरूलाई राजनीतिमा सक्रिय हुनको लागि मधेशमा विशेष अभियान अगाडी बढाएको छ । एमालेको वीरगन्जमा कार्तिक २५ गते बृहत् युवा भेला हुन लागेको छ । 

फागुन २१ गतेको निर्वाचनमा मतदाता नामावलीमा धेरैको नाम छुटेको छ । त्यसमा दलित समुदायका अधिकांश मतदाताहरू वञ्चित छन् । मतदाता नामावलीमा नाम समावेश गर्न पर्साको वीरगन्ज जानुपर्ने बाध्यतालाई हटाउन स्थानीय वा क्षेत्रीय रुपमा मतदाता नामावली सङ्कलन केन्द्र स्थापना गरिनु पर्ने माग युवाहरूको छ । 

चुनाव लक्षित कार्यक्रममा आफूहरू होमिइसकेको जनमत पार्टी पर्साका इन्चार्ज एवं युवा नेता ओम प्रकाश सर्राफले बताउनुभयो । उहाँका अनुसार चुनावको विकल्प हामीले देखेका छैनौँ । चुनावको माहोल मधेश प्रदेशमा सकारात्मक रुपमा अघि बढाउन हाम्रो पार्टीले युवाहरूलाई परिचालित गरिसकेको छ । 

नेकपा एमालेका मधेश प्रदेश कमिटीका सचिव एवं युवा नेता मनोज पौडेलले नेकपा एमाले अहिले पार्टीको महाधिवेशनको मुखमा रहेकाले यसको तयारीमा आफूहरू जुटेको बताउनुभयो । 

उहाँले महाधिवेशनको तयारी र निर्वाचनको तयारी पनि सँगसँगै भइरहेको र एमाले निर्वाचनबाट भाग्न पार्टी नभएको दाबी गर्नुभयो । 

नेपाली काँग्रेस पर्साका युवा नेता एवं क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ताले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी रहेकोले निर्वाचनबाट भाग्ने कुरा कल्पना पनि गर्न सकिँदैन भन्नुभयो । उहाँले काँग्रेस आन्तरिक रुपमा निर्वाचनको तयारीमा जुटिसकेको प्रष्ट्याउनुभयो । 

भर्खरै एकता गरेका र दस वटा कम्युनिष्ट मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचनको पक्षमा वातावरण बनाउन देशभरि नै नेता कार्यकर्ता परिचालन गरेकोले मधेश प्रदेशमा चुनावी माहौल बनाउन मतदाता नामावली र परिवर्तित अवस्थामा जेनजी आन्दोलनबाट उठेका मागहरू राख्न चुनावमा होमिसकेको मधेस प्रदेशका पूर्व उद्योग,पर्यटन तथा बन राज्यमन्त्री रहबर अन्सारीले बताउनुभयो । 

यता जेनजी समूहका युवाहरू निर्वाचनको माहोल बनाउन र जेनजी आन्दोलनको उपलब्धि हासिल गर्न पर्साका १४ वटै पालिकामा सक्रियता बढाएको जेन्जी युवा कमिटीका सल्लाहकार सुधिर पटेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button