तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीमा सडक पूर्वाधारका ३२ योजना कार्यान्वयनमा

म्याग्दी। गण्डकी प्रदेश सरकारले म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार सम्बन्धी ३२ योजना सञ्चालन गर्ने भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत कार्यान्वयन हुने सडक स्तरोन्नति, मोटरेबल र झोलुङ्गे पुल निर्माण सम्बन्धी योजनाका लागि प्रदेश सरकारले रु. ६२ करोड बजेट बिनियोजन गरेको छ ।

क्रमागत १७ योजनाका लागि रु. ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु. १० करोड बजेट प्राप्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो ।

यसअघिका बर्षमा ठेक्का सम्झौता भएका क्रमागत योजनाका निर्माण ब्यवसायीहरु बर्खा र चाडपर्व सकिएपछि काममा फर्कन थालेका तथा नयाँ सालबसाली योजना कार्यान्वयनका लागि ठेक्का आव्हानका लागि सर्वेक्षण र लागत अनुमानको काम भैरहेको उहाँले बताउनुभयो ।

धवलागिरि, मालिका र मङ्गला गाउँपालिका समेटिएको प्रदेशसभाको क्षेत्र १(ख)का १८ योजनाका लागि रु. ४७ करोड र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र १(क) का १४ योजनाका लागि रु. १४ करोड ६२ लाख बजेट प्राप्त भएको छ ।

संघीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु. २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटन सडक प्रदेश सरकार मार्फत म्याग्दीमा सञ्चालित सबैभन्दा ठूलो योजना हो ।

बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुदै बैसरी सडक स्तरोन्नति र फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि रु. एक÷एक करोड बजेट बिनियोजन भएको छ ।

म्याग्दी १(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले धवलागिरि गाउँपालिका–१ को गुर्जालाई सडक सञ्जालले जोड्ने लक्ष्य सहित प्रदेशबाट रु. ५० लाख बिनियोजन भएको जानकारी दिनुभयो । संघीय, प्रदेश सरकार, गाउँपालिका र समुदायको साझेदारीमा विकट गुर्जालाई यो वर्ष सडक सञ्जालमा जोडिने उहाँले बताउनुभयो ।

मङ्गला गाउँपालिका–१ को तुसारेपानी–कुहुँ, गैराखेत–मालिका मन्दिर र दरवाङ–लामेला–अल्काचौर, दूधखोला–तोलावाङ र सराग्दी सडकका लागि रु. ५०÷५० लाख र
मालिका गाँउपालिकको खतेन–ओखरबोट झोलुङ्गे पुललाई रु. ३० लाख बजेट बिनियोजन भएको छ ।

घारखोला–नेपाने र तिप्ल्याङ–बादुक बाख्रेनी डिल देखि धुपीचौर सडक रघुगंगा–२ र बगैचा रानीपौवा रिसिन चौतारी हुदै बेगखोला जोड्ने सडक र रघुगङ्गा –१ को टोल नम्बर २ को ढल निकास योजनाका लागि रु. ५०÷५० लाख बजेट बिनियोजन भएको म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । ग्रामिण सडकहरुलाई ग्राभेल, ढलान र कालोपत्र गरेर स्तरोन्नति गर्न योजनाहरु सञ्चालन भएको उहाँले बताउनुभयो । सडक स्तारोन्नति भएपछि ग्रामिण क्षेत्रमा यातायातको सहज पहुँच बढ्ने र बसाईसराई घट्ने अपेक्षा गरिएको छ ।

अन्नपूर्ण–५ पाउद्धारदेखि कुरिलाबगर हुदै वडा नं ६ बिरौटा सम्म सहिद सुरेश शेरपुजा र हिरालाल फगामी स्मृति मोटरबाटो र दोबा–भिरकाटे सडक, ज्ञानप्रकाश मावि देखि कोट खलंगा– हुदै ठारा, भगवती–डाडाबारी–पिप्ले एकघरे सडक, कोटगाउँ–रायखोर– घ्यासीखर्क र पाखापानी– कालावाङ –ठाडाखानी र ठूलोगैरा – खबरा– बन्चरेढुंगा–भकुण्डे र आनन्दबगर– लामबगर – ढोडेनी सडकका लागि रु. ५०÷५० लाख बजेट बिनियोजन भएको छ ।

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ,
पखेर बरंजा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्री खोला सडक पुल, रुम देखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(ख) का क्रमागत बहुबर्षीय योजनाहरु हुन् ।

निर्वाचन क्षेत्र १(क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट –दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवति–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुबर्षीय सडक निर्माणाधिन छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button