रौतहटको नेपाल–भारत सीमा भोलिबाट बन्द हुने
रौतहट । भारतको बिहार विधान सभा निर्वाचनको दोस्रो चरणलाई मध्य नजर राख्दै रौतहट जिल्लाका नेपाल–भारत सिमानाहरू बन्द हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा हस्ताक्षरित सूचना अनुसार कार्तिक २५ गते (नोभेम्बर ११, २०२५) मङ्गलवारका दिन भारतमा दोस्रो चरणको विधान सभा निर्वाचन हुन गइरहेको हुँदा रौतहट जिल्लाको सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएका सबै सिमानाका कार्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि कार्तिक २५ गते मङ्गलवार साँझ ६ बजेसम्म आकस्मिक सेवा बाहेक आवागमन पूर्ण रूपमा बन्द हुने उल्लेख गरिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रसम्बन्धी भएको समन्वय बैठक पश्चात् प्रत्येक निर्वाचन अघि ७२ घण्टा अगावै सीमा सिल गर्ने प्रचलन रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी भुसालले यस पटक पनि सोही अनुसार सीमा बन्द गरिने जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि नेपाल–भारत सिमानामा कडाइ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा रामनरेश साहले पनि निर्वाचन अवधिभर सिमानामा हुने आवागमन पूर्ण रूपमा रोक्ने निर्णय कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । उहाँका अनुसार आकस्मिक स्वास्थ्य सेवा, सुरक्षासम्बन्धी आवश्यकता र अत्यावश्यक सामान ढुवानी बाहेकका सबै गतिविधि अस्थायी रूपमा रोक लगाइनेछ ।








प्रतिक्रिया राख्नुहोस्