आगजनीपछि बाँके मालपोत कार्यालय शून्यबाट सेवा सुरु गर्ने तयारीमा
बाँके । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटपछि भूमिसुधार तथा मालपोत कार्यालय बाँके पूर्ण रूपमा ध्वस्त बनेको छ। कार्यालय प्रमुख सबिन सिंह चौधरीका अनुसार प्राविधिक टोलीले जाँचपछि भवनमा रातो स्टिकर टाँसी “भित्र प्रवेश गर्न नमिल्ने” निर्णय गरेकोले हाल पुरानो भवनबाट सेवा सञ्चालन गर्न नसकिने अवस्था छ।
“कार्यालयका सबै कागजात, उपकरण र फर्निचर जलेका छन्, केही लुटपाट पनि भयो,” चौधरीले भन्नुभयो, “अहिले हामीसँग कुनै अभिलेख वा प्रविधिक साधन छैन, शून्यबाट सेवा सुरु गर्नुपरेको छ।”
मालपोत कार्यालय ‘श्रेस्ता’मा आधारित हुने भएकाले अभिलेख नष्ट भएपछि कार्य सम्पादनमा ठूलो चुनौती उत्पन्न भएको छ। साथै, डिजिटल रेकर्डमा पहुँचका लागि आवश्यक उपकरण र इन्टरनेट सुविधा नहुँदा सेवा हाल स्थगित गरिएको चौधरीले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरिएको भवन भाडा निर्धारण समितिको निर्णयका आधारमा अस्थायी रूपमा नयाँ भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको छ।
“भाडा सम्झौता सकिएपछि आइतबार वा सोमबारदेखि सामान्य सेवा सुरु गर्ने योजना छ,” चौधरीले भन्नुभयो, “हाल कम्प्युटरदेखि प्रिन्टरसम्म केही छैन, त्यसका लागि दातृ संस्थासँग सहयोगको अनुरोध गरिएको छ।”
जेन–जी आन्दोलनका क्रममा बाँकेका अन्य सरकारी निकायहरू पनि क्षतिग्रस्त भएका थिए। तर, भूमिसुधार तथा मालपोत कार्यालयको संरचनागत क्षति सबैभन्दा गम्भीर रहेको बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्