‘शान्ति सुरक्षा मजबुत बनाउन कुनै कसुर बाँकी नराख्ने’

उदयपुर । उदयपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ ।
बाँके जिल्लाबाट सरुवा भई उदयपुर आइपुग्नुभएका प्रजिअ जोशीले बिहीबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा पछिल्लो समय जिल्लाभित्र खलबलिएको शान्ति सुरक्षालाई अबको दिन अझै मजबुत बनाएर शान्ति सुरक्षा कायम गराउने बताउनुभयो ।
उहाँले आफू नीति, कानुन र विधिको अधीनमा रही कार्य गर्ने भन्नुहुँदै कसैको प्रभावमा नपरी आफू पनि काम गर्ने र सबैलाई सोही अनुसार कार्य गर्न अनुरोध समेत गर्नुभयो ।
प्रजिअ जोशीले शान्ति सुरक्षा र विपद्सँग जोडीका सूचनाहरू पत्रकारसँग भए आदानप्रदान गर्न आग्रह गर्नुहुँदै पत्रकारहरूले पाउने सूचना प्रशासनलाई शेयर गर्दा विपद्को उद्धार र शान्ति सुरक्षामा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले जिल्लामा हुने लागू औषधको बारेमा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न आफूहरू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लामा क्रियाशील पत्रकारहरूले जेनजी आन्दोलनपछि उदयपुरको शान्ति सुरक्षा कमजोर भएको र जिल्लामा बढी मात्रमा लागू औषध, ढुङ्गा, गिट्टी, बालुवा अनि काठ तस्करी हुने गरेकोले यसतर्फ ध्यान दिन गर्न प्रजिअ जोशीसँग आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाका अध्यक्ष भक्तिविलास पोखरेलसहित जिल्लामा क्रियाशील सञ्चारकर्मीहरू, जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्