कार्यवाहक राष्ट्रपति यादव र कोरियाली राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए योङ्गले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, पर्यटन सहकार्य, श्रम तथा रोजगार, पूर्वाधार विकास, ऊर्जा, लगानी तथा जनस्तरको सम्बन्धलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
कार्यवाहक राष्ट्रपति यादवले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ को पृष्ठभूमिमा नेपालमा नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै लोकतान्त्रिक यात्राप्रति नेपालको प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले आगामी २०८२ फागुन २१ ९५ मार्च २०२६० मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताउनुभयो ।
उहाँले नेपाल–कोरिया सम्बन्धको ५०औँ वार्षिकोत्सव सफलतापूर्वक मनाइएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण, आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउनुभयो ।
कोरियाली सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँले आगामी दिनमा सहकार्यलाई अझ गहन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यवाहक राष्ट्रपति यादवले कोरियाली सरकारप्रति इपिएस कार्यक्रममार्फत नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराएकामा धन्यवाद व्यक्त गर्दै कोरियासँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको स्पष्ट पार्नुभयो । उहाँले कोरियाली पर्यटकको नेपालप्रतिको आकर्षण, विशेषतः पदयात्रा र पर्वतारोहण जस्ता क्षेत्रहरूमा, उल्लेखनीय रहेको बताउँदै धार्मिक र सांस्कृतिक समानताले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गर्नुभयो ।
महामहिम राजदूत पार्क ताए योङ्गले नेपालप्रति कोरियाली सरकारको सद्भाव, सहयोग र मित्रता निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले ‘जेनजी’ को मागबमोजिम बनेको नेपाल सरकारलाई कोरियाको समर्थन रहेको उल्लेख गर्दै अगामी चुनावका लागि सहयोग र शुभकामना व्यक्त गर्नुभयो ।
“विगत ३० वर्षदेखि कोरियाले नेपालको शिक्षा, कृषि, आइटीको क्षेत्रमा सहयोग गर्दै आएको छ”, राजदूत योङ्गले भन्नुभयो, “रोजगारको सिलसिलामा कोरिया जाने नेपालीको सङ्ख्या बढाउन आफ्नो मुलुकको तयारी छ ।” उहाँले धेरै कोरियाली कम्पनी नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सशक्त बनाउने दिशामा कोरियाली पक्षबाट आवश्यक सहयोग जारी रहने बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्