तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराए, सम्झौता कार्यान्वयन गर्न माग 

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन् । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण रोकिएको हो । 

आज मेलम्ची खानेपानी बाढी पीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन् भने माग पुरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन् ।  

यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढी पीडित सङ्घर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीयले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईँ जानकारी दिनुभयो ।

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागी तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन् । 

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लान नपाइने उनीहरूको भनाइ छ । उनीहरूले बाढी पीडितहरूलाई आयआर्जनका कार्यक्रमहरू लागू गर्न समेत माग गरेका छन् । उनीहरूले १७ बुँदे मागहरूको विषयमा ध्यानाकर्षण गराएका हुन । 

२०८१ असोज २३ गते सङ्घर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबीच सम्झौता भएको थियो । तत्कालीन खानेपानी मन्त्री प्रदीप यादवले स्थानीयका मागमा सहमति जनाउनुभएको थियो । २०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी आसपासका अधिकांश बासिन्दाका घर खेत पूर्ण रूपमा क्षति भएको थियो । स्थानीयले विभिन्न माग राख्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button