तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा सुमो दुर्घटना: एक जनाको मृत्यु, १० घाइते

धनकुटा। धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ बन्चरेमा आइतबार बिहान सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

आइतबार बिहान काजीमानेबाट धनकुटातर्फ आउँदै गरेको को. १ ज. २४९४ नम्बरको सुमो गाडी ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। दुर्घटनामा परि छथरजोरपाटी गाउँपालिका वडा नं. ३ की ६० वर्षीया शोकमाया लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो। त्यसैगरी धनकुटा नगरपालिका–३ का २१ वर्षीय आशिष लिम्बुको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

यस्तै दुर्घटनामा परि सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री, धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राई र उहाँका ७ वर्षीय छोरा न्युहाङ सुब्बा, धनकुटा नगरपालिका–४ की ३३ वर्षीया पुनम लिम्बु, उहाँकी २ वर्षीया छोरी आरध्या लिम्बु घाइते हुनुभएको छ। यस्तै धनकुटा नगरपालिका–४ का २६ वर्षीय आइन्द्र लिम्बु, वडा नं. ३ का २७ वर्षीय भवानी लिम्बु, वडा नं. ३ कै ४७ वर्षीय हेमबहादुर लिम्बु र वडा नं. ४ का ३० वर्षीय अबिन लिम्बु घाइते हुनुभएको छ। घाइते भएका सबैलाई जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको सुमो गाडी सडकसम्म निकाल्ने पहल भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button