म्यानमारमा अलपत्र १४ नेपालीको उद्धार
काठमाडौँ । नेपाली राजदूतावास, बैंकक (थाइल्यान्ड)ले म्यानमारमा अलपत्र परेका १४ जना नेपालीलाई उद्धार गरी स्वदेश पठाएको छ ।
विभिन्न प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमार पुगी त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न काममा लगाइएका १४ जना नेपालीलाई म्यान्मार तथा थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरी स्वदेश पठाएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उनीहरूलाई थाइल्यान्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै थाइल्यान्ड ल्याई आज नेपाल एयरलाइन्सको उडान नं. आरए ४०२ मार्फत नेपाल फर्काइएको हो ।
त्यसैगरी, म्यानमारमा रहेका थप ११ जना नेपालीहरूलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाइल्यान्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन सबैमा अनुरोध समेत गरेको नेपाली राजदूतावास बैंककले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्