तपाईँ सुन्दै हुनुहुन्छः

कार्तिक पूर्णिमामा बाँकेका दुई गाउँपालिकामा सार्वजनिक बिदा

बाँके। हिन्दूहरूको प्रमुख धार्मिक पर्व कार्तिक पूर्णिमाको अवसरमा बाँकेको नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

दुवै गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आफ्ना नागरिकहरूलाई शुभकामना व्यक्त गरेका छन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सूचनामा भनेका छन्, “धार्मिक विविधता र सहअस्तित्व हाम्रो पहिचान हो। हिन्दू धर्मावलम्बीको महान् पर्व कार्तिक पूर्णिमाको अवसरमा सबैमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दछौं।”

अध्यक्ष शाहले पर्वले समुदायबीच आपसी एकता र सद्भाव बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नरैनापुरमा सबै धर्मावलम्बीबीच आपसी सम्मान र सहिष्णुता कायम रहनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले पनि सूचना जारी गर्दै सबै गाउँवासीलाई शुभकामना व्यक्त गर्दै भन्नुभयो, “कार्तिक पूर्णिमा धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण पर्व हो। यसले समाजमा पवित्रता, स्नेह र सहयोगको भावना बढाउँछ।”

दुवै गाउँपालिकाले कार्तिक पूर्णिमाको दिन सबै कार्यालय बन्द रहने र अत्यावश्यक सेवा भने यथावत् सञ्चालन हुने जनाएका छन्।

कार्तिक पूर्णिमामा धार्मिक स्नान, दान र दीपदान गर्ने परम्परा रहिआएको छ। बाँकेका विभिन्न नदीघाट, मन्दिर र धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लाग्ने अपेक्षा गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–४ की वडा सदस्य रुमिता देवकोटाले भन्नुभयो, “कार्तिक पूर्णिमाको बिहान घाम उबेलिनु अघि स्नान गरेर दीपदान गर्ने हाम्रो संस्कृतिको सुन्दर पक्ष हो। गाउँपालिकाले बिदा दिएकोमा खुसी लागेको छ।” उहाँले नेपालगञ्जले पनि बिदा दिनुपर्नेमा चिन्ता व्यक्त गर्दै स्नान गर्न जाने श्रद्धालुहरूका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button