इलाममा नयाँ मतदाता संख्या तीव्र रूपमा बढ्दै
इलाम । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने मिति घोषणा भएसँगै इलाममा नयाँ मतदाता संख्या तीव्र रूपमा बढ्दै गएको छ। फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्नेले मतदान गर्न पाउने भएकाले अहिले नयाँ मतदाताका रूपमा फोटो खिचाउने क्रम जारी छ भन्ने जानकारी जिल्ला निर्वाचन कार्यालय इलामका प्रमुख देवीचरण फुयांलले दिनुभयो।
उहाँका अनुसार, असोज ८ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाताको संख्या इलाममा २ लाख २७ हजार ३०३ पुगेको छ। तीमध्ये १ लाख १७ हजार ४३ जना पुरुष र १ लाख ९ हजार ९५८ जना महिला मतदाता छन्। असोज ९ गतेपछि पनि नयाँ मतदाताका रूपमा फोटो खिचाउने प्रक्रिया जारी रहेको फुयांलले बताउनुभयो।
हालसम्म २९७ नयाँ मतदाताले फोटो खिचाइसकेका छन्। कतिपयले हालै १६ वर्ष पूरा गरी नेपाली नागरिकता पाएर फोटो खिचाएका छन् भने कतिपयले १८ वर्ष पूरा गरेका छन्। प्रमुख फुयांलका अनुसार, “फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने सबैको नाम स्वतः मतदाता नामावलीमा समावेश हुनेछ। कार्तिक ३० गतेसम्म फोटो खिचाउने समय बाँकी छ।”
साथै, जिल्ला र पालिका स्तरमा मतदाता नामसारी (ठेगाना परिवर्तन) को काम पनि भइरहेको छ। उहाँका अनुसार, “कोही इलामबाट अन्य जिल्लामा सर्दै छन् भने कोही अन्य जिल्लाबाट इलाम आउँदैछन्। जिल्लाभित्र पनि विभिन्न पालिकाबाट नामसारीका लागि आउनेको संख्या धेरै छ।”
अहिलेसम्म ११९ जनाको नामसारी प्रक्रिया सम्पन्न भइसकेको र ६६ जनाको मृत्यु भएका कारण मतदाता नामावलीबाट हटाइएको छ।







प्रतिक्रिया राख्नुहोस्