अर्थमन्त्री खनाल र कोरियाली राजदूतबिच शिष्टाचार भेट
काठमाडौँ अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदूत महामहिम पार्क ते यङबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।

भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल र कोरिया गणतन्त्रबिचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्नुहुँदै कोरिया सरकारले नेपाललाई प्रदान गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कोरियाको सहयोगमा सञ्चालन भइरहेका परियोजना र कार्यक्रमहरूको प्रगति सन्तोषजनक रहेको बताउँदै आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो।
शिष्टाचार भेटका अवसरमा राजदूत पार्कले नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ३० वर्ष पूरा भएको अवसरमा विगत तीन दशकमा भएको सहकार्यप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्न र नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने विषयमा जोड दिनुभयो।
राजदूत पार्कले नेपाली कामदारहरूलाई कोरिया रोजगारीका लागि सहज बनाउने उद्देश्यले भिसा सेन्टर स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले ईपिएस प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपालीहरूलाई उद्यमशील बनाउने हेतुले कोइकाको सहयोगमा कृषि विकास बैङ्कमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको पनि उल्लेख गर्नुभयो।






प्रतिक्रिया राख्नुहोस्