वर्षाको असर: धनकुटामा कृषि बालीमा ४२ करोड रुपैयाँ बराबरको क्षति
धनकुटा। निरन्तरको वर्षाका कारण धनकुटा जिल्लामा धान र कोदो बालीमा करिब करिब ४२ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

कृषि ज्ञान केन्द्र धनकुटाले दिएको जानकारी अनुसार गत कात्तिक १२ गतेदेखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाभरिका धान र कोदो बालीमा ठुलो मात्रामा क्षति भएको छ। जस अन्तरगत २ हजार ५ सय ९५ दशमलव ६ हेक्टर क्षेत्रफलमा लगाइएको १२ हजार ४ सय १५ मेट्रिक टन धान क्षति हुँदा ४१ करोड ५२ लाख ९९ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जसमा काटिसकेको धान ४ हजार ५ सय ३० दशमलव २४ मेट्रिक टन, पाकिसकेर काट्न बाँकी रहेको ७ हजार ७ सय ९३ दशमलव ५२ मेट्रिक टन, दूध परेको कलिलो ढलेको धान ४ दशमलव ८ मेट्रिक टन र पाक्न बाँकी हरियो धान ८६ दशमलव ४ मेट्रिक टन क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राना मगरले जानकारी दिनुभयो।

यस्तै १३ दशमलव ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ३० दशमलव ७ मेट्रिक टन कोदो बाली क्षतिग्रस्त हुँदा १५ लाख ३५ हजार २ सय ४० रुपैयाँ बराबरको क्षति भएको छ।
धनकुटामा २ हजार ६ सय ९ हेक्टरमा लगाइएको १२ हजार ४ सय ४४ मेट्रिक टन धान र कोदो क्षति हुँदा ४१ करोड ६८ लाख ३४ हजार २ सय ४० रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्