ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनः स्थापना

काठमाडौँ। काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित गायत्री मार्गमा रहेको छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनः स्थापना गरिएको छ ।

काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा न-८ का वडा अध्यक्ष आशामान सङ्गत, महानगरपालिकाका नगर उपप्रमुख सुनिता डङ्गोलले आज विधिपूर्वक पूजा गरी उक्त मूर्ति पुनः स्थापना गर्नुभएको हो ।
छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्मा मन्दिरको मूर्ति विगत ४० वर्षदेखि प्रहरी वृत्त गौशालामा राखिँदै आएकामा आजदेखि ब्रह्मा मन्दिरमा पुनः स्थापना गरिएको वडाध्यक्ष सङ्गतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संरक्षणको अभावमा मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको थियो । आज हामीले मूर्तिलाई मन्दिरमा पुनः स्थापना गरेका छौँ ।”

काठमाडौँ महानगरपालिका–८ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र गायत्री मार्गमा रहेको दुई तले मन्दिरमा बाजागाजा र बग्गीसहितको र्यालीले आज मूर्तिलाई मन्दिरमा पुनः स्थापना गरेको छ ।
छैटौँ शताब्दीमा निर्माण भएको ब्रह्माको उक्त चतुरमुख मूर्तिसहितको ऐतिहासिक मन्दिर १९९० सालको भूकम्पभन्दा अगाडि नै भत्किएपछि भग्नावशेष मात्र रहेकाले मूर्ति पनि चोरी भएको र पछि उक्त मूर्ति धोबीखोलामा भेट्टाइएको थियो ।
उक्त मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा राखिएको वडाध्यक्ष सङ्गतले बताउनुभयो । विसं २०७२ वैशाख १२ को भूकम्पले जीर्ण बनाएको उक्त मन्दिरलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पुनः निर्माणका लागि शिलान्यास गर्नुभएको थियो । ब्रह्मा मन्दिर इँट्टा माटो र काठबाट निर्मित मन्दिर दुई तलाको प्यागोडा शैलीमा निर्माण गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्