तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटना, ३५ जना घाइते

बाजुरा। बाजुराको बूढीनन्दा नगरपालिका क्षेत्रमा शनिबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ३५ जना घाइते भएका छन्।

मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा कोल्टीबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस (सुप–प्र ०१–००१ ख ३१८१) दुर्घटनामा परेपछि ३० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रोकिराखेको अवस्थामा सामान हाल्दै गर्दा बस पछाडि सर्दा दुर्घटना भएको हो।

घाइतेमध्ये २० जनाको उपचार जिल्ला अस्पताल बाजुरामा, ६ जनाको कोल्टी आधारभूत अस्पतालमा र ४ जनालाई गम्भीर चोटका कारण धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ। चालक भने फरार छन्।

घाइतेहरूमा सहचालक गणेश जोशी (कञ्चनपुर), जय सुनार, सन्ध्या सुनार, सिमा सुनार (बूढीनन्दा–७), मनी कामी (स्वामीकार्तिक–३), लक्ष्मी मल्ल (बूढीनन्दा–५), पवित्रा सिंह र उनकी छोरीहरू जेनिशा, पल्ले र जेसिका सिंह (बूढीगंगा–९) लगायत रहेका छन्। चार जनाबाहेक सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, शनिबार नै बूढीनन्दा–१० पाण्डुसैन बजार नजिक जीप दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइते जयराज जोशी, शंकर जोशी, सेते ल्वार, जयलाल बिक र जंगविर सार्कीको उपचार कोल्टी आधारभूत अस्पतालमा भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button