रौतहटमा निरन्तर वर्षा: धानबाली डुब्दा किसान संकटमा
रौतहट। बुधवारदेखि निरन्तर परिरहेको झरीले रौतहटका किसानको धान बाली पूर्ण रूपमा डुबाएको छ ।
खेतमा पानी जमेकाले पाकेर काटिएको धान अहिले खेतमै बिग्रने,कुहिने र उत्पादनमा ठुलो ह्रास आउने आशङ्का गरिएको हो ।
तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण धान भित्र्याउने सिजनमै पानी पर्नु किसानका लागि ठुलो विपत्ति बनेको छ ।

गौर नगरपालिका–५ का किसान ब्रह्मदेव गुप्ताले “धान काट्ने बेला लगातार पानी पर्नाले सारा मेहनत बर्बाद हुने डर भएको बताउनुभयो । खेतमा पानीको सतह बढ्दै गएको छ, अब बाली बचाउने अवस्था छैन उहाँले भन्नुभयो ।”

बुधवार रातिदेखि सुरु भएको झरी शनिवारसम्म निरन्तर जारी रहँदा जिल्लाभर जनजीवनसमेत प्रभावित भएको छ । बजारहरू क्षेत्र अहिले सुनसान छन् ।

वर्षाबाट कति क्षेत्रफलमा धान बाली डुबानमा परेको हो भन्ने आधिकारिक तथ्याङ्क भने अझै सार्वजनिक भएको छैन ।
कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलले स्थानीय तहबाट विवरण सङ्कलन भइरहेकाले अहिलेसम्म कुल क्षतिको विवरण प्राप्त नभएको जानकारी दिनुभयो ।

“हामीले सबै १८ स्थानीय तहलाई प्रभावित क्षेत्रको विवरण माग गरेका छौँ,” मण्डलले भन्नुभयो, “अहिलेसम्म कुनै पनि स्थानीय तहले विवरण पठाएको छैन ।”








प्रतिक्रिया राख्नुहोस्