पर्यटकको रोजाइ बन्दै रानिसैन
बाजुरा। बाजुराको हिमाली गाउँपालिका अन्तर्गत पर्ने ऐतिहासिक रानिसैन क्षेत्र पछिल्लो समयमा पर्यटकहरूको प्रमुख गन्तव्य बन्न थालेको छ।

धार्मिक, जैविक तथा प्राकृतिक विविधताले अत्यन्त आकर्षक र समृद्ध भए पनि पूर्वाधारको अभाव र प्रचार–प्रसारको कमीका कारण वर्षौँसम्म ओझेलमा परेको रानिसैन हाल पुनः चर्चामा आउँदै पर्यटकको चहलपहल बढ्न थालेको हो।
हिउँले ढाकिएका हिमाल, स्वच्छ ताल, औषधीय जडीबुटी, चरन क्षेत्र तथा विभिन्न जातका फूलहरूले भरिपूर्ण यो क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण तीव्र रूपमा बढेको स्थानीय बासिन्दा राजबहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले महिनामा करिब एक दर्जनभन्दा बढी पर्यटकहरू रानिसैन भ्रमणका लागि आउने गरेका छन्।

स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबिच समन्वय गरी गुरुयोजना निर्माण, पूर्वाधार विकास, संरक्षण क्षेत्रको घोषणा तथा प्रचार–प्रसारमा ध्यान दिन सके रानिसैन सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय वासीहरूको भनाइ छ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दवर मल्लका अनुसार, रानिसैन क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयहरूको आर्थिक जीवनस्तरमा समेत सुधार आउनेछ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यो क्षेत्रको पर्यटन विकासका लागि योजना निर्माण तथा सर्वपक्षीय छलफलको प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो।
रानिसैन क्षेत्र अपि–साइपाल हिमालको बेसक्याम्पका रूपमा समेत परिचित छ।








प्रतिक्रिया राख्नुहोस्