‘जिउँदो शहीद हुँ, तर सरकारको नजर कहिल्यै परेन’
रौतहट । २०७२ सालको मधेस आन्दोलनमा घाइते भएका गौर नगरपालिका–४ निवासी लालबाबु राय कुर्मी आज पनि उपेक्षाको मारमा बाँचिरहनुभएको छ । आन्दोलनका क्रममा गोली लागेर मेरुदण्डमा गम्भीर घाइते भएका कुर्मी अहिले न त हिँडडुल गर्न सक्षम, न त परिवार पाल्न सक्ने अवस्थामा हुनुहुन्छ ।

कुर्मीले भक्कानिँदै भन्नुभयो, “म जिउँदो शहीद हुँ, तर सरकारले कहिल्यै हेरेन । मधेसवादी दलहरू पटक–पटक सत्तामा पुगे तर म जस्ता घाइतेलाई कसैले सम्झिएन ।”
२०७२ साल भदौ २७ गते दिउँसो २ बजे तिर गौरस्थित कबीर चोकमा आन्दोलनमा सहभागी हुँदा कुर्मीलाई गोली लागेको थियो । गोली मेरुदण्ड र कोखमा लागेको कारण उहाँ लामो समयदेखि शारीरिक रुपमा अशक्त हुनुभएको छ । सो समयमा उहाँ एक महिनासम्म आइसियुमा र छ महिनासम्म अस्पतालको बेडमा जीवन र मृत्युको बीचमा सङ्घर्षरत रहनुभएको थियो ।
गोली लाग्नुअघि कुर्मी सिलाई–कटाइ गरेर राम्रै आम्दानी गर्नुहुन्थ्यो । त्यसै आम्दानीबाट उहाँले आठ जनाको परिवारमा श्रीमती, एक छोरा र पाँच छोरीसहित चलाइरहनुभएको थियो । तर अब त्यो सब अतीतको कुरा बनेको छ । “पहिला म काम गरेर बालबच्चा पाल्थेँ,” कुर्मी आँखा रसाउँदै भन्नुभयो, “अहिले त काम गर्न सक्दैन हिँडडुल गर्न पनि अरूको सहारा चाहिन्छ ।”
मधेस सरकारले बलिदानी दिवसको अवसरमा दुई लाख रुपैयाँ सहयोग दिएको भए पनि त्यो रकमले परिवारको दैनिकी चलाउन अपुग भएको कुर्मीको गुनासो छ । “त्यो पैसाले केही महिना टर्यो, तर जीवन त अहिले पनि बाँकी छ नि,” उहाँले पीडायुक्त स्वरमा भन्नुभयो ।
गौरस्थित टिकुलियामा चार धुर मात्र घडेरी भएकाले बसोबासको पनि समस्या छ । रोजगारीको कुनै स्रोत नभएकाले परिवार दैनिक अभावमा बाँचिरहेको छ । “सरकारले मलाई पैसा नदिए पनि काम दिने व्यवस्था गरिदियोस्,” कुर्मीले आग्रह गर्दै भन्नुभयो, “मेरो श्रीमती काम गर्न सक्नुहुन्छ, उहाँलाई कम्तीमा कुनै कार्यालय वा विद्यालयको पिउन वा सहयोगीको जागिर दिए पनि ठूलो राहत हुन्थ्यो ।”
कुर्मीले अहिले छोरीहरूको विवाह गर्ने उमेर भइसकेको बताउँदै चिन्ता पोख्नुभयो, “म कहाँबाट पैसा ल्याएर बिहे गरौँ ? कहिल्यै सरकारले हाम्रो दुःख महसुस गरेन ।” लामो समयसम्मको आन्दोलन र बलिदानीका बाबजुद कुर्मीको जीवन अहिले अभाव, पीडा र अन्यायको प्रतीक बनेको छ । उहाँको एक मात्र चाहना अब यही छ । “सरकारले मलाई अनुदान होइन, अवसर देओस् । काम गरेर बाँच्न पाऊँ, यहीँ मेरो न्याय हो ।”








प्रतिक्रिया राख्नुहोस्