एनपिएलः विराटनगरको दोस्रो जित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको दोस्रो खेलमा विराटनगरले काठमाडौँ गोर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित निकालेको हो ।

काठमाडौँ गोर्खाजले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । जसमा जर्ज मुन्सेले सर्वाधिक ३६, नरेन भट्टले २४, लोकेश बमले १४, मार्टिन गुप्टिल २५, बसिर अहमद १९ रनको योगदान दिए । बलिङमा काठमाडौँका शाहव आलमले दुई, करण केसी, गेह्रार्ड एरामस र सन्तोष यादवले एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । जसमा आदिल आलमले सर्वाधिक ४८ रनमा अविजित रहे । बेन चाल्सवर्थ ३२, सन्तोष यादवले २६ रन जोडे । विराटनगरका मर्चेन्ट डे लाङले दुई, कप्तान सन्दीप लामिछाने, शुभम् रन्जाने र सूर्य तामाङले एक/एक विकेट हात पारे ।
पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । तेस्रो खेल खेलेको काठमाडौँले भने दोस्रो हार बेहोरेको छ । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।
यो जितपछि विराटनगर अङ्क तालिकाको दोस्रो स्थानमा पुगेको छ । काठमाडौँ तेस्रो स्थानमा छ । सुदूरपश्चिम शीर्ष स्थानमा कायमै छ ।
यसअघि आजै भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि नौ विकेटको जित निकालेको थियो ।








प्रतिक्रिया राख्नुहोस्