तपाईँ सुन्दै हुनुहुन्छः

युवा नै नयाँ नेपालको नेतृत्व हुन् : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताउनुभएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उहाँले युवालाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताउनुभयो ।

“मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ । युवालाई नयाँ नेपालको नेतृत्वका रूपमा तयार पार्नुपर्छ । त्यस विषयमा पार्टीले भूमिका खेल्नेछ”, संयोजक दाहालले भन्नुभयो ।

उहाँले पार्टी कमिटी र निर्वाचनमा धेरैभन्दा धेरै युवालाई प्राथमिकता दिइने बताउनुभयो । “नयाँ पुस्ताको युवालाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने वातावरण बनाउन हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो । अब हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौँ”, दाहालले भन्नुभयो ।

संयोजक दाहालले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न ‘जेनजी’ युवाले लिएको पहलले संसारभरका नेपालीमा नयाँ चेतना पैदा भएको बताउनुभएको छ । उहाँले जेनजी आन्दोलनले सबैलाई आत्मालोचना गर्ने ठाउँमा पुर्याएको पनि धारणा राख्नुभयो । 

नेकपाका नेता जगन्नाथ खतिवडाले ‘जेनजी’ पुस्ताको आवाज आफ्नो पार्टीले मात्रै सुन्ने र त्यसैअनुसार भूमिका निर्वाह गर्ने बताउनुभयो । युवाको चाहना मुलुकबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको भन्दै उहाँले यही सङ्कल्प बोकेर नेकपा अघि बढिरहेको बताउनुभयो ।

त्यस अवसरमा जेनजी युवा माओवादीमा सहभागी भएको घोषणा गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button