खुम्बुमा बेमौसमको हिमपात, हजारौँ पर्यटक अलपत्र
सोलुखुम्बु । पर्यटनको मुख्य सिजनमा बेमौसमको हिमपात र वर्षाका कारण हजारौँ पर्यटक खुम्बु क्षेत्रमा अलपत्र परेका छन् ।

पछिल्ला चार दिनदेखि लगातार परेको वर्षा र हिमपातका कारण लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा उडान ठप्प छ। दृश्यता न्यून हुँदा विमान उड्न नसकेपछि लुक्ला र सुर्के क्षेत्रमा मात्र करिब छ सय बढी पर्यटक अलपत्र रहेको लुक्लाका पर्यटन व्यवसायी तोया श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार गाडी पुगेको सुर्केमा पनि पर्यटकको चाप धेरै रहेको छ । लुक्ला र सुर्केमा बस्नका लागि होटल अभाव भएकाले बिदेसी पर्यटकलाई समेत बासको समस्या भएको व्यवसायी श्रेष्ठले बताउनुभयो । सुविधायुक्त होटलमा कोठा नपाएपछि सामान्य चिया पसलतिर समेत बास बस्न परेको छ भने नेपालीलाई झनै समस्या भएको उहाँको भनाइ छ ।
तेन्जिङ हिलारी विमानस्थलमा पर्यटकहरू मौसम सुधारको पखाईमा बसिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका सिनियर एटिसी अफिसर अमनचन्द्र झाले जानकारी दिनुभयो । भिजिबिलिटी कम भएकाले जहाजको उडान ठप्प रहेको र हेलिकप्टरले लुक्ला फाप्लु उडान गरिरहेको उहाँकाअनुसार रामेछापबाट लुक्ला आउनका लागि पर्यटक उडानको पखाईमा रहेका छन् । रामेछाप–लुक्लाका लागि तारा, सीता र समिट एयरका दैनिक ३० वटा नियमित तथा नन–सेड्युल उडान गर्दै आएका थिए । सम्भावित हिमपात र वर्षाका कारण सरकारले समेत आवतजावतमा सजकता अपनाउन कडाइ गरेको छ ।

आधार शिविर क्षेत्रमा मात्र १४९० पर्यटक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गोरक्क्षेपमा २२० जना, लोबुचेमा २३५ जना, दिङबुचेमा १,००० जना, थुक्लामा ३५ जना रहेका छन् । पर्यटकको सामान्य आवतजावत भने भइरहेको उहाँको भनाइ छ ।

त्यस्तै, सगरमाथाको प्रवेशद्वार नाम्चे बजार आसपासका क्षेत्रमा १२०० पर्यटक रहेको र समग्र खुम्बु क्षेत्रमा साढे पाँच हजार स्वदेशी तथा बिदेसी पर्यटकहरू रहेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । नाम्चेमा करिब ३५०० पर्यटक बास बस्ने सक्ने होटलको क्षमता भएकाले पर्यटकलाई खान बस्नका लागि खासै समस्या नभएको उहाँले जानकारी दिनुभयो । नाम्चेमा रहेको होटल व्यवसायी सङ्घले सधैँको मूल्यमा नै खाना तथा बासको शुल्क लिने गरेको उहाँको भनाइ छ ।
मुख्य सिजनमा नै मौसम प्रतिकूलताका कारण खुम्बुमा पर्यटनको आवागमनमा समस्या हुँदा व्यवसायमा समेत असर पुगेको शेर्पाले बताउनुभयो । अहिले मुख्य सिजन चलिरहेकोले हवाईजहाज मार्फत रामेछापबाट लुक्ला आउने धेरै पर्यटक फर्कन थालेपछि खुम्बुको पर्यटनमा असर पुग्ने भएको हो । सडक यातायातमा पनि सरकारले मुख्य सिजनमा भएको यस अवस्थाका कारण खुम्बुका व्यवसायी चिन्तित भएका हुन् ।
मौसम प्रतिकूलताको मौका छोपेर सुर्केबाट सडक यातायात हुँदै सल्लेरी जाने गाडीले भने मनपरी भाडा लिने गरेको व्ययवासीको गुनासो छ । एक जना पर्यटन व्यवसायीका अनुसार यसअघि एउटा प्रतिव्यक्ति ३ हजार रुपियाँ भाडा लिने गरेको भए पनि हाल १० हजारसम्म असुल्ने गरेको छ । एउटा जीपले ५० देखि ६० हजारसम्म रिजर्भ भाडा लिने गरेको पाइएको हो । यसरी मनपरी भाडा असुल्दा पर्यटकहरूमा नकारात्मक सन्देश जाने व्यवसायीको चिन्ता छ ।

तस्विरः जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बु ।








प्रतिक्रिया राख्नुहोस्