समुद्री आधी “मोन्था” को प्रभाव मधेश प्रदेशमा
जनकपुरधाम । भारतको बंगालको खाडीमा देखा परेको समुद्री आधी “मोन्था”को असर मधेश प्रदेशका जिल्लाहरूमा गएराति देखि परेको छ । मधेश प्रदेशका जिल्लाहरूमा गएराति देखि नै हल्का वर्षा भएका कारणले पाक्न थालेको धानमा असर पर्न थालेको हो ।
गएराति देखि शुरु भएको वर्षाको असर आज दिनभरि नै परेको छ । हल्का वर्षा दिनभरि नै भइरहेको छ । वर्षा तथा आधिको व्यापक असर पर्ने भन्दै प्रदेश सरकारका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशका सुरक्षा निकायहरूलाई उच्च सतर्क अवस्थामा रहनका लागि निर्देशन दिनु भएको थियो ।
सुरक्षा निकायले मधेश प्रदेशका बागमती, झाझ, रातो, विग्ही, कमला तथा कोशी तटबन्ध क्षेत्रमा बसोबास गर्ने जनतालाई सजग बनाउने काम भएको छ । यस पटक असोजको तेस्रो सातामा परेको भारी वर्षाका कारणले मधेश प्रदेशका रौतहट, सर्लाही, महोत्तरी तथा सप्तरी जिल्लामा धानमा ठूलो क्षति भएका बेलामा पुनः मोन्थाको प्रभावले वर्षा भएपछि किसानहरु चिन्तित बनेको छ ।
अहिलेको वर्षाले ठूलो क्षति नभएपनि यस भन्दा ठूलो वर्षा भएको खण्डमा पाक्न थालेको धानमा ठूलो क्षति गर्ने खतरा रहेको छ । खास गरेर धान पाक्न थालेको र कटान गर्ने समय अहिले भइरहेको वर्षाका कारणले किसानहरु चिन्तित बनेका छन् ।
मोन्था समुद्री आधीका प्रभावले हुन सक्ने सम्भावित धनजनको क्षतिलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आज र भोलीका लागि बेलुका ५ बजे देखि बिहान ५ बजेसम्मका लागि विपी राजमार्गको खुर्कोटवाट काठमाडौँ जाने र आउने सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गर्नु भएको सूचनामा वर्षाको समयमा पहिरो जाने खतरा भएकाले दिनको समयमा जुनसुकै समयमा उक्त राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाउने पनि सूचनामा उल्लेख रहेको छ ।
राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बागमती प्रदेशमा मोन्थाको प्रभावले ठूलो वर्षा हुने अनुमान गर्दै सतर्कताका लागि सूचना जारी गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिपी राजमार्गमा सवारी सञ्चालनमा आंशिक रोक लगाउने सूचना जारी गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्