तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप क्रिकेट लिग–२: नेपालले टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । 

दुबईस्थित आईसीसी एकेडेमीमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । युएईले पहिला फिल्डिङ गर्नेछ । 

जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका छन्  । नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता युएईले पनि अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् । 

एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र यूएईले हालसम्म १५ पटक एक दिवसीय खेल खेलेको छ । जसमा नेपाल नौ खेलमा विजयी भएको छभने बाँकी ६ खेल युएईले जितेको छ । 

लिग–२ को अङ्क तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड ३० अङ्कसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अङ्क जोडेर नेपाल सातौँ स्थानमा छ । समान खेल खेलेको युएई ६ अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

युएईविरुद्धको खेलको प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजबंशी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button