मुख्यमन्त्री आचार्य र युएनडिपी टोलीबिच भेटवार्ता
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को एक प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा बुधबार भएको हो ।

भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन अभिवृद्धि गर्दै रोजगारीका पर्याप्त अवसर सृजना गर्न समुदाय परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले दातृ निकायहरूले समेत सरकारका प्राथमिकतासँग मेल खाने गरी योजनाहरू अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न समुदायको उत्थानशीलता बढाउने गरी अनुकूलन कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो । उहाँले लुम्बिनी प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने उद्देश्यअनुसार प्राङ्गारिक मल उत्पादनलाई मुख्य कार्यसूचीमा राखिएको बताउनुभयो ।
भेटमा बायोचार, जलवायु परिवर्तन वित्तीय रूपरेखा र स्थानीय जलवायु अनुकूलित जीविकोपार्जनका लागि सुविधा कार्यक्रम बारे पनि विस्तृत छलफल भएको थियो ।
भेटमा युएनडिपी नेपालका फिल्ड अफिस लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, स्विडिस अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सी सिडाका वरिष्ठ कार्यक्रम अधिकृत क्रियाङ्क्राई थिटिमाकर्न, युएनडिपी क्षेत्रीय केन्द्र, बैकका सार्वजनिक वित्त व्यवस्थापन विशेषज्ञ विवेक मिश्र, संयुक्त राष्ट्र पूँजी विकास कोष जलवायु वित्त विश्लेषक इनीज मानन्धर, कार्यक्रम अधिकृत प्रज्ञान जोशी, जलवायु परिवर्तन विशेषज्ञ अनु अधिकारी सहभागी हुनुहुन्थ्यो । सो क्रममा युएनडिपीले सञ्चालन गरेका कार्यक्रमहरूको बारेमा जानकारी गराइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्