तपाईँ सुन्दै हुनुहुन्छः

झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक

झापा । एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

यही कात्तिक १५ गतेदेखि शिवसताक्षीस्थित दुधे रङ्गशालामा हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब सहभागी रहनेछन् ।

उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।

त्यस्तै, दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ । तेस्रो खेलमा कात्तिक १७ गते सङ्कटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । चौथो खेल कात्तिक १८ गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल कात्तिक २० गते हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २२ गते हुनेछ ।

यसैबीच, प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३०० वटा कुर्सी निर्माण गरिएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।

त्यस्तै, प्रतियोगितालाई उत्कृष्ट र भव्य बनाउन तयारी अन्तिम चरणमा पुगेको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिनु भयो ।

आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button