असोजमा अन्नपूर्ण क्षेत्रमा भित्रिए ३० हजार पर्यटक
गण्डकी । गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् ।
दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
अघिल्लो वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका आयोजना प्रमुख डा रविन कडरियाले बताउनुभयो । गत भदौमा भएको ‘जेनजी’ प्रदर्शन र मौसमको अवरोधका कारण भारतीय पर्यटक आगमन घटेको उहाँको भनाइ छ ।
आर्थिक वर्ष २०८०/८१ मा २८ हजार ७०५ र आव २०८१/८२ को असोजमा ३० हजार ७३२ जना पर्यटक यस क्षेत्रमा भित्रिएकामा जनाउँदै कडरियाले असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिने बताउनुभयो ।
तिहार लगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको आयोजना प्रमुख कडरियाले बताउनुभयो ।
यस याममा अन्नपूर्ण फेरोमा पर्ने गन्तव्य स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने आयोजना प्रमुख डा कडरियाले बताउनुभयो ।
सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् ।
अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ ।








प्रतिक्रिया राख्नुहोस्