सामुदायिक वनमा तिमुर खेती
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ को ताल्कोल्ला सामुदायिक वनमा सामूहिक तिमुर खेती गरिएको छ ।
डिभिजन वन कार्यालय बैतडी तथा इसिमोड कार्यक्रमको सहयोगमा सामुदायिक वनमा तिमुर खेती सञ्चालन गरिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गोपालदत्त जोशीले जानकारी दिनुभयो ।

दुई वर्ष पहिले लगाएको तिमुर फल्न थालिसकेको अध्यक्ष जोशीले बताउनुभयो । ७५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा ८ हजार तिमुरका बिरुवा रोपिएको छन् ।
बजारीकरणमा सहयोग पुगेमा वनलाई राम्रो फाइदा हुने उपभोक्ताहरूले बताएका छन् । तिमुर अहिले प्रतिकेजी एक हजारका दरले बिक्री हुने गरेको छ । करिब ८ देखि १० क्विन्टलसम्म तिमुर फल्ने भएकाले बजारीकरणको अभाव रहेको वनका अध्यक्ष जोशीको गुनासो छ ।
जिल्लामै पहिलोपटक ताल्कोल्ला सामुदायिक वनमा सामूहिक तिमुर खेती सञ्चालनमा रहेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदनराज जोशीले जानकारी दिनुभयो । तिमुर व्यवसाय अघि बढाउन सकेमा आम्दानीको राम्रो आधार बन्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्