बेलौरीमा दुई दिवसीय निःशुल्क आँखा शिविर सञ्चालन
कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा दुई दिवसीय निःशुल्क आँखा शिविर सुरु भएको छ ।
नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा बेलौरी नगरपालिकाको सहकार्यमा श्री महाकाली माध्यमिक विद्यालय, बेलौरीमा शनिबारदेखि सो शिविर सञ्चालन गरिएको हो ।

शिविरका बारेमा जानकारी दिँदै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले नगर क्षेत्रका सर्वसाधारण नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो शिविर आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार शिविरमा आँखा रोगको प्रारम्भिक जाँच, दृष्टि समस्या परीक्षण, औषधि वितरणका साथै आवश्यक परे सर्जिकल सल्लाहसमेत प्रदान गरिँदै छ ।
शिविरमा मोतीबिन्दु लगायत आँखाका अन्य रोगीहरूको निःशुल्क अप्रेसन समेत गर्न लागिएको छ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीले सेवा दिइरहेको नगरपालिकाले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने सो शिविर बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालनको समय तोकिएको छ ।
स्थानीय बासिन्दाहरूको उत्साहपूर्ण सहभागिता रहेको शिविरमा पहिलो दिन तीन सय भन्दा बढी व्यक्तिहरूले सेवा लिनुभएको ल्याब टेक्निसियन हरिसमणि भट्टले जानकारी दिनुभयो । नगरपालिकाका अनुसार बेलौरीका विभिन्न टोलमा आँखाका समस्या बढ्दै गएकाले यस्ता स्वास्थ्यमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।








प्रतिक्रिया राख्नुहोस्