तपाईँ सुन्दै हुनुहुन्छः

छठ घाटमा व्रतालु तथा भक्तजनहरूको सुरक्षा व्यवस्थालाई सुदृढ बनाइने 

वीरगञ्ज । छठ पूजाका लागि देशभर प्रसिद्धी कमाएको वीरगञ्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा व्रतालु तथा भक्तजनहरूको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले प्रतिबद्धता जनाएका छन् ।

घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले शनिबार आयोजना गरेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा सुरक्षा प्रमुखहरूले छठघाटमा सुरक्षाका सवालमा कुनै त्रुटि हुन नदिने आश्वासन दिएका हुन् । यस वर्ष घडिअर्वा छठघाटमा १ लाख ५० हजार बढी भक्तजनहरू पुग्ने अनुमान गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठ घाटको सुरक्षा रणनीति तय गरिने र त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो । उहाँले लाखौँको भीड व्यवस्थापन, सम्भावित दुर्घटनाको जोखिम टार्न लगायतका सुरक्षा चुनौतीहरूप्रति प्रशासन गम्भीर रहेको बताउनुभयो ।

बैठकमा पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले आयोजक समितिका स्वयंसेवकहरूसँग समन्वय गरेर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाउने बताउँदै छठ घाट परिसरमै एक प्रहरी अधिकृतको कमाण्डमा सिसिटिभी कन्ट्रोल रुम स्थापना गरिने र आवश्यक प्रहरी टोली परिचालन गरिने जानकारी दिनुभयो । 

यस्तै, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पनि छठ घाटको सुरक्षा व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिँदै पोखरीको ठूलो जलाशयलाई ध्यानमा राख्दै मोटरेबल बोटसहितको टोली र महिला सुरक्षाकर्मी समेत खटाइने बताउनुभयो ।

घडिअर्वा छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले विगतको भन्दा अझ प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउने प्रयास भइरहेको बताउनुभयो । समितिको सुरक्षा उपसमितिका संयोजक मुना साहले छठ घाट परिसरभित्र र बाहिर गरी २० भन्दा बढी सिसिटिभी क्यामेरा जडान गरिएको र घडिअर्वा स्पोट्र्स क्लबका ६० जना स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो ।

समितिका अध्यक्ष राकेश साहको अध्यक्षतामा भएको बैठकमा वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणका गणपति, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु, पूर्व वडाध्यक्ष, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुख, समितिका पदाधिकारी तथा घडिअर्वा स्पोट्र्स क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button