मिथिलाञ्चलसहित तराई मधेशमा भातृ द्वितीया पर्व सम्पन्न
जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा आज भातृ द्वितीया पर्व धुमधामका साथ सम्पन्न भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष द्वितीया तिथिका दिन मनाइने भातृ द्वितीया पर्वमा दिदी बहिनीले दाजु भाईको दीर्घायु, सुस्वास्थ्य तथा समृद्धिको कामना सहित मनाउने गरिन्छ ।

यस पर्वमा बिहानदेखि नै दिदीबहिनीहरुले निराहार बसेर टिकाको शुभ साइतमा आँगनमा गाईको गोवरले लिपपोत गरेर चावलको लेदोले तयार पारेको अरिपनमा काठको पिढा वा आशन राखेर त्यसमा दाजुभाइलाई विराजमान गराई तीन पटक विशेष मन्त्रसहित पूजा गर्ने चलन छ ।
यसमा दिदी बहिनीले दाजुभाइको आजुरमा चावलको लेदो (पिठार) लगाई त्यसमा सिन्दूरको टिका लाएर पान, मखान, सुपारी, द्रव्य, गोवर्द्धनमा प्राप्त भएको मटरको दाना राखेर पानीले तीन पटक मन्त्र सहित पखालेर पूजा गर्दछन् । त्यसपछि मिष्ठान्न तथा गोवर्द्धन पूजाको क्रममा प्राप्त भएको मटरको दाना दाजुभाइलाई खुवाउने चलन रहेको छ ।
पूजापछि दाजुभाइले पनि आफ्नो गच्छे अनुसारको कपडा, गरगहना वा द्रव्य उपहारको रुपमा प्रदान गर्ने चलन रहेको छ । त्यसपछि दाजुलाई दिदी बहिनीले तयार पारेको मिठो मिठो परिकारहरू तयार पारेर खुवाई सकेपछि आफू खाने चलन रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्