मानु कोटमा बढे पर्यटक
दमौली,तनहुँ । चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानु कोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानु कोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।
तिहार बिदाका कारण यतिबेला मानु कोटमा दैनिक औसतमा तीन सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् । मानु कोटबाट सूर्योदयसँगै देखिने कुहिरोले यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउने दमौलीका सोमबहादुर नेपालीले बताउनुभयो ।
बन्दीपुर गाउँपालिका–२ का सुदिन पौडेलले दमौली बजारलाई कुहिरोले धपक्क छोपेको दृश्य हेर्नका लागि मानिसहरू आउने गरेको सुनाउनुभयो ।
मानुङकोट हिल टप होटलका सञ्चालक चूडामणि दाहालले विगत एक सातादेखि मानु कोटमा पर्यटकको चाप बढेको बताउनुभयो । पर्यटकहरू अघिल्लो दिन बास बसेर सूर्योदय र कुहिरो हेर्ने गर्छन् ।
मानु कोटमा पर्यटक उक्लिने क्रम बढेपछि यहाँ होटल खुल्ने क्रम बढेको छ । विगतमा होटल समेत नरहेको यस ठाउँमा अहिले एक दर्जन होटल खुलिसकेका छन् । दृश्यावलोकनका लागि व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ हालेको छ । रेलिङसँगको भागमा हालै पैदलमार्ग निर्माण गरिएको छ ।
मानु कोटबाट धौलागिरि, माछा पुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेद व्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
मानु कोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानु कोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।
मानुङकोट जाने सडक कालोपत्रे भइसकेको छ । सहरी विकास मन्त्रालयको आर्थिक लगानीमा मानुङकोटसम्म पुग्ने सडक कालोपत्रे गरिएको हो । अलैंचेबाट मानुङकोटसम्मको चार हजार तीन सय मिटर सडक कालोपत्रे भएको हो । कालोपत्रे गर्न अप्ठ्यारो रहेको ठाउँमा एक सय ८० मिटर आरसिसी ढलान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्