तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल सम्वत्ले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति


काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले नेपाल सम्वत् ११४६ को सुखद् आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै कात्तिक शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने नेपाल संवत्ले सो कुरा उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “यो राष्ट्रिय सम्वत्को नयाँ वर्षले समस्त देशवासीलाई एकताबद्ध भई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई सुदृढ गर्दै समृद्ध मुलुक निर्माणको महाअभियानमा एकाग्रताका साथ अघि बढ्न प्रेरणा र प्रोत्साहन मिलोस् भन्ने हार्दिक कामनाका साथ पुनः शुभकामना व्यक्त गर्दछु ।”

नेपाल सम्वत्लाई मौलिक सम्वत्को प्रवर्तक राष्ट्रिय विभूति शंखधर साःख्वालाई यस शुभ दिनमा हामी उच्च सम्मानका साथ स्मरण गर्दछौँ । उहाँले किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएको लोककल्याणकारी, निस्वार्थ र अतुलनीय योगदान नेपाल र नेपाली समाजका लागि सदैव प्रेरणाको स्रोत बनिरहने पनि उल्लेख गर्नुभएको छ ।

हाम्रो ‘विविधतामा एकता’ को मौलिक पहिचानलाई थप बलियो बनाउँदै, सम्पूर्ण नेपालीहरूबीच परस्पर अपनत्व भाव र सद्भाव बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button