तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा ५ लाख ४७ हजार बढिले लिए हैजाविरुद्धको खोप

वीरगंज । पर्सामा गत असोज २६ गते आइतबार देखि कार्तिक २ गते आइतबार सम्म सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानमा ५ लाख ४७ हजार ३ सय ११ जनाले  खोप लिएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार असोज २६ आइतबार देखि कार्तिक २ गते आइतबारसम्म ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिने योजना रहेको भएपनि लक्षित सङ्ख्याको ८४ प्रतिशतले खोप लिएका छन् । 

खोप लिने लक्षित सङ्ख्या मध्ये वीरगंज महानगरपालिकामा २ लाख २६ हजार १ सय ६६ जनाले खोप लिएका छन् भने ठोरी गाउँ पालिकामा १४ हजार ३ सय ५०, जिराभवानी गाउँपालिकामा १७ हजार २ सय ९६, जगरनाथपुर गाउँपालिकामा ३० हजार २ सय ३२, पटेर्वासुगौली गाउँपालिकामा २१ हजार ४ सय ५० जनाले खोप लिएका छन् । 

हैजा रोगको महामारी विरुद्ध प्रतिकार्य खोप अभियान २०८२ अन्तर्गत स्वास्थ्य कार्यालय पर्साले सार्वजनिक गरेको तथ्याङ्कमा सखुवा प्रसौनी गाउँपालिकामा ३१ हजार ३ सय ८० जना, पर्सागढि नगरपालिकामा ३४ हजार ८ सय ६१ जना, बहुदरमाई नगरपालिकामा ३४ हजार ८ सय ३३ जना, पोखरीया नगरपालिकामा ३१ हजार ४ सय ८१ जनाले खोप लिएका छन् । 

त्यसैगरी कालिकामाई गाउँपालिकामा १९ हजार ३० जना, धोबिनी गाउँपालिकामा १९ हजार ५५ जना, छिपहरमाई गाउँपालिकामा २६ हजार ९ सय ४ जना, पकाहामैनपुर गाउँपालिकामा १७ हजार ९ सय २ र बिन्दबासीनि गाउँपालिकामा २२ हजार ४ सय ३३ जनाले खोप लिएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत ठाकुरले जानकारी दिनुभयो ।  खोप अभियान  वडास्तरबाट तथा विद्यालयहरूमा समेत सञ्चालन गरिएको थियो । 

पर्साका १४ वटै स्थानीय तहमा यो अभियान सञ्चालन गरिएको थियो भने छिमेकी बाराका १६ पालिकामध्ये कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गरी वीरगन्ज महानगरपालिकासँग जोडिएका पालिकाहरूमा यो अभियान चलाइएको थियो । 

वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आईसीजीसँग खोपको माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको प्राविधिक सहयोगमा दुई जिल्लामा यो अभियान सञ्चालन गरिएको हो ।

इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुने विज्ञहरूले बताएका छन् । गत भदौ ६ गतेदेखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

कात्तिक २ गतेसम्म सञ्चालन भएको अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ पालिकामा १ हजार ९ सय ५० खोप केन्द्र स्थापना गरिएको थियो । केन्द्रहरूमा स्थानीय पालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, सामुदायिक र निजी विद्यालय, कलेज, सरकारी कार्यालय, गैरसरकारी संस्था, मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल–भारत सीमा नाका र उद्योग कलकारखाना समावेश गरिएको थियो । अभियानमा १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको थियो । पर्सा र बाराका लागि १० लाख १८ हजार १ सय डोज खोप ल्याइएको थियो ।

गत भदौ ६ गते वीरगन्जमा पहिलो पटक तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म वीरगन्ज महानगरमा १ हजार ५ सय ९५ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जका विभिन्न अस्पतालमा उपचारार्थ आएका मध्ये २ सय २९ जनामा हैजा संक्रमण पुष्टि भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button