तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा दीपावली र छठमा पटाका नपड्काउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै दीपावली, छठ वा कुनै उत्सवमा पटाका नपड्काउन आग्रह गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले आइतबार जारी गरेको सूचनामा भनिएको छ– दीपावली, छठ पर्वको उपलक्ष्यमा घर घरमा पटका नपड्काउनु हुन र पटका ओसारपसार, पटकाको व्यापार व्यवसाय नगर्नु नगराउनु हुन अनुरोध छ । पटका पड्काउँदा ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने असर, पटकाको आवाजले समाजमा हुने भय/डर र पटकाबाट निस्किने आगोको झिल्काले हुन सक्ने आगलागी समेतलाई मध्यनजर गरी पटका पड्काउने कार्य निषेध गरिएको छ । यदि यस्तो कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुनेछ ।

साथै जिल्ला प्रशासन कार्यालय पर्साले रातीको समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी देउसी भैलो राती ९ः०० बजेसम्म मात्र खेल्न आग्रह पनि गरेको छ । राति ९ः०० बजे पछि खेलिने, खेलाइने देउसी भैलोलाई बन्द गर्ने चेतावनी समेत दिइएको छ ।

यस्तै चाडपर्वको उपलक्ष्यमा खेलिने/खेलाइने जुवा तासमा हारजित भई आर्थिक व्ययभार पर्ने हुँदा जुवातास नखेल्न/नखेलाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पास लिएका अत्यावश्यक सेवासँग सम्बन्धित सरकारी काममा बाहेक अन्य कामका लागि सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन नचलाउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button