तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा राती १० बजेपछि देउसी भैलो खेल्न रोक

पाल्पा । तिहारको समयमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी पाल्पामा रातीको १० बजेपछि देउसी भैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गरी बिहान ७ बजेदेखि राती १० बजेसम्म मात्र देउसी भैलो, लगायतका कार्यक्रमहरू सञ्चालन अनुरोध गरेको हो ।

प्रशासनले तिहारलाई मर्यादित बनाउन कानून विपरीतका क्रियाकलापहरू जुवातास, लङ्गुरबुर्जा, नखेल्न नखेलाउन र भूइचम्पा, पटका तथा आतसबाजी जस्ता विस्फोट पदार्थहरूको बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन समेत नागरिकलाई अपिल गरेको छ । साथै चाडपर्वको बेला सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनले सार्वजनिक सुरक्षामा असर पर्ने गरी मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानहरूमा हो हल्ला भिडभाड तथा हुल हुज्जत जस्ता गतिविधि गरेको पाइएमा जो कोहीमाथि तत्काल कानून बमोजिमको कारबाही गरिने चेतावनी दिएको छ ।

यसका साथै जिल्ला प्रहरी कार्यालय पाल्पाले माइकिङ्क गरी कुनै पनि शङ्कास्पद गतिविधि देखेमा वा कानून विपरीतका कार्य भएको पाइएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ । नेपालीहरूको सांस्कृतिक पर्व तिहारलाई मर्यादित बनाउन म्याद गुज्रेका भाइमसला, अखाद्य वस्तु, रङ मिसाइएका मिठाइ लगायतका खाना र गुणस्तरहीन खाद्य वस्तुहरूको विक्री वितरण एवम् उपभोग नगर्न नगराउन पनि सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button