तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको वातावरण बनाउन सरकार विशेष रणनीतिक योजनासहित अघि बढ्ने

काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको केन्द्रिय सुरक्षा समितिको बैठकले निर्वाचनको वातावरण बनाउन र शान्ति सुरक्षाको अनुभूति दिलाउन विशेष रणनीतिक योजनासहित अगाडि बढ्ने निर्णय गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको समितिको बैठकले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण बनाउन मातहतका सबै निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको हो । 

बैठकपछि गृहमन्त्री अर्यालले निर्वाचनको शान्ति सुरक्षासँग सम्बन्धित विषयमा अघिल्लो बैठकमा बनाएको रणनीतिक योजनाहरू र गठन गरिएको समितिले गरेका कामको समीक्षा गरिएको र कार्यान्वयनका लागि मातहतका निकायहरूलाई परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

निर्वाचन सम्पन्न गर्नका लागि बनाइएका विशेष रणनीतिक र योजनाहरू प्रमुख जिल्ला अधिकारीमार्फत कार्यान्वयन गराउने गृहमन्त्री अर्यालले बताउनुभयो । 

उहाँले, जेनजी आन्दोलनका क्रममा लुटिएका करिब चारसय हतियार रिकभर हुन बाँकी रहेको र प्रहरीका हतियार निर्वाचन अघिसम्म रिकभर गर्नका लागि विशेष अभियान चलाउने बताउनुभयो ।

मन्त्री अर्यालले भागेका कैदीबन्दी फिर्ता ल्याउन थप कार्यक्रम ल्याउने र त्यस अनुसारको निर्देशन गर्ने जानकारी पनि दिनुभयो । केन्द्रिय सुरक्षा समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, गृह सचिव र रक्षा सचिव रहने व्यवस्था रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button