बाँकेमा चाडपर्वका लागि सुरक्षा कडा, १२ सय भन्दा बढी प्रहरी परिचालन
बाँके। तिहार र छठ पर्वलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन बाँकेमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रहरीले चाडपर्वको भीडभाड र सम्भावित जोखिमलाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाएको जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार जिल्लाभर १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका विभिन्न युनिटबाट थप ३ सय बढी प्रहरी समेत खटाइएपछि सुरक्षा व्यवस्था सुदृढ गरिएको हो।
तिहारमा हुने आतिसबाजी र भीडभाडका कारण आगलागी र सवारी दुर्घटनाको जोखिम उच्च हुने भएकाले त्यसलाई न्यून पार्न विशेष रणनीति बनाइएको उनले बताए। लागुऔषध कारोबार, चोरी, जुवातास र अन्य आपराधिक गतिविधि नियन्त्रणमा पनि प्रहरीको निगरानी बढाइएको छ।
डीएसपी पातलीका अनुसार आवश्यक स्थानहरूमा अतिरिक्त प्रहरी पोष्ट स्थापना गरिएको छ र संयुक्त चेकजाँच सुरु भइसकेको छ। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सवारी आवागमन हुने मुख्य क्षेत्रहरूमा विशेष टोली खटाइएको छ।
ट्राफिक नियम पालना गराउन सचेतना अभियान सञ्चालन गरिएको छ भने यात्रुको सहजताका लागि जिल्लाभर चारवटा सहायता कक्ष स्थापना गरिएको छ। प्रहरीका अनुसार सामूहिक पर्वका बेला धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम रहोस् भन्ने उद्देश्यले स्थानीय नेतृत्व र समुदायसँग संयुक्त समन्वय कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ।
डीएसपी पातलीले सामाजिक तनाव वा धार्मिक विग्रह फैलाउने व्यक्ति वा समूहमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्। बाँके प्रहरीले प्रदेशमै धार्मिक सद्भाव, सामाजिक एकता र शान्ति सुदृढ बनाउन सबैलाई सहयोग गर्न अपिल गरेको छ।
प्रतिक्रिया राख्नुहोस्