बाँकेमा मतदाता नामावली अद्यावधिक तीव्र, एक हजार भन्दा बढी मतदाता थपिए
बाँके।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाँकेमा मतदाता नामावली अद्यावधिक कार्य तीव्र गतिमा जारी छ।
जेनजी आन्दोलनपछि असोज ६ गतेदेखि सुरु गरिएको अभियानबाट असोज मसान्तसम्म १ हजार ४७ जना नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार नयाँ दर्ता गराउनेमध्ये अधिकांश युवा छन्।
हाल बाँकेमा ३ लाख ३३ हजार ९३४ मतदाता दर्ता भएका छन्। तीमध्ये १ लाख ६९ हजार ८७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र ९ अन्य रहेका छन्। निर्वाचन कार्यालयले नागरिकता प्रमाणपत्र, विवाह प्रमाणपत्र तथा आवश्यक कागजातका आधारमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
असोज मसान्तसम्म ६१ जनाको नाम त्रुटि सच्च्याइएको र ५७ जनाको स्थानान्तरण गरिएको शाहीले बताए। अद्यावधिक र सुधार कार्य अनलाइनमार्फत पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका बासिन्दाको सहभागिता उच्च रहेको छ। फोटो खिच्ने कार्य भने हाल जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भई गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन अधिकारी शाहीका अनुसार युवाको उत्साह र अनलाइन सुविधाका कारण यस वर्षको मतदाता नामावली अद्यावधिक कार्य अपेक्षाकृत सहज र प्रभावकारी बनेको छ।
प्रतिक्रिया राख्नुहोस्