कवि तथा गीतकार अधिकारी सम्मानित

काठमाडौँ । कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित हुनुभएको छ ।
कवि अधिकारीको लेखन यात्राको स्वर्ण वर्षका अवसर पारेर ‘नझरेका फूलहरू’ संस्थाले उहाँलाई मोरङको बेलबारीमा सम्मान गरेको हो ।
कार्यक्रममा कवि हेमन यात्री, देवान किराँती, पूरन याक्खा, अस्मिता विष्ट, भरत वर्वरिक, रेखा सुवेदीलगायतले कवि अधिकारीको हालै प्रकाशित कविता सङ्ग्रह ‘पानीको परेड’बाट कविता वाचन गर्नुभएको थियो ।
कवि मनु मन्जिलले कवि अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार हुनुभएको उल्लेख गर्नुभयो । ‘नझरेका फूलहरू’ का प्रस्तोता केपी घिमिरेले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै कवि अधिकारीलाई सम्मान गर्न पाएकामा संस्था गौरवान्वित भएको धारणा राख्नुभयो ।
कवि तथा गीतकार अधिकारीलाई सुन्न विभिन्न क्षेत्रका साहित्यकार र कलाकारको उपस्थिति थियो ।
कार्यक्रममा कवि अधिकारीले कविता र गीतका बारेमा सङ्क्षिप्त विचारसहित आफ्ना कविता र गीत वाचन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्