तपाईँ सुन्दै हुनुहुन्छः

मर्यादित र सुरक्षित वातावरणमा दीपावली मनाउन डडेल्धुरा प्रशासनको आग्रह

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेलधुराले आगामी तिहार र छठ पर्वलाई लक्षित गर्दै नागरिकहरूलाई मर्यादित, सुरक्षित र सौहार्दपूर्ण वातावरणमा पर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले चाडपर्वका अवसरमा कानून विपरीतका गतिविधि नगरी धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अनुरोध गर्नुभएको छ । 

प्रशासनले विशेष गरी जिल्लाभर शान्ति सुरक्षा कायम गर्नका लागि सुरक्षाकर्मीहरूलाई सतर्क रहन निर्देशन दिएको छ । तिहार तथा छठ पर्व मनाउने क्रममा कसैको इच्छा विपरीतको कार्य नगरी स्वच्छ, शान्त वातावरणमा पर्व मनाउन सबैलाई अनुरोध गरिएको छ ।

प्रशासनले तिहारका अवसरमा हुने देउसी, भैलो र सांस्कृतिक कार्यक्रमहरू बिहान ९ बजेदेखि बेलुकी ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । राति ढिलोसम्म कार्यक्रम चलाएमा कारबाही हुने चेतावनी दिइएको छ । जुवातास खेल्ने, आतसबाजी गर्ने वा अन्य अवैध मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुन नपाइने प्रशासनले जनाएको छ । 

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा हो–हल्ला, झगडा वा अशान्ति उत्पन्न गर्ने कार्य नगर्न प्रशासनले चेतावनी दिएको छ । चाडपर्वको नाममा अमनचयन भङ्ग गर्ने गतिविधि तत्काल रोक्न सुरक्षाकर्मीलाई निर्देशन गरिएको छ । प्रशासनले गुणस्तरहीन खाद्य सामग्री,म्याद गुज्रिएका वस्तु र प्लास्टिकजन्य फलफूलको बिक्री वितरणमा कडाइ गर्ने बताएको छ । यस्ता वस्तु पाइए तत्काल नियन्त्रणमा लिने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button