तपाईँ सुन्दै हुनुहुन्छः

बिरामीलाई कुर्चीमा राखेर उपचार गर्नुपर्ने बाध्यता, भवन निर्माण अलपत्र

दैलेख । दैलेख अस्पतालमा बिरामीलाई कुर्चीमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ । दैलेख अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई शय्या अभावले कुर्चीमा राखेर उपचार गर्नुपर्ने बाध्यता भएको हो । दैलेख अस्पतालको क्षमताभन्दा बढी बिरामी उपचारका लागि पुग्ने गरेपछि उनीहरुलाई कुर्चीमा राखेर उपचार गरिँदै आएको छ ।

अस्पतालको भौतिक संरचनाको अभाव र शय्या अभावका कारण बिरामीलाई कुर्चीमा राखेर सेवा दिनुपर्ने बाध्यता रहेको दैलेख अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. मनोज विश्वकर्माले बताउनुभयो । उहाँले अस्पतालको आफ्नै सुविधा सम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा दिइँदै आएको बताउनुभयो ।

नागरिकलाई सेवा दिँदै आएको अस्पतालमा १५ शय्या मात्र स्वीकृत रहे पनि बिरामीको बढ्दो चापलाई ख्याल गर्दै अस्पतालको जीर्ण संरचनाबाट ६५ शय्या सञ्चालनमा रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. विश्वकर्माले बताउनुभयो । उहाँले जीर्ण संरचना र शय्या राख्ने ठाउँ नहुँदा दैनिक अस्पताल आउने बिरामीलाई कुर्चीमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । पछिल्लो समय दिनमा सयदेखि १ सय ५० भन्दा बढी नागरिक अस्पतालमा सेवा लिन पुग्ने गरेको डा. विश्वकर्माको भनाई छ । 

अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अगाडि बढेको चार वर्षभन्दा बढी भए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन । भवन निर्माण कार्यले पूर्णता नपाउँदा त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् । कर्णाली प्रदेश सरकारको मूल्य अभिवृद्धि कर बाहेक २७ करोड २८ लाख ५२ हजार ३ सय ५३ रुपैयाँमा ३३ दशमलव १६ प्रतिशत घटेर १८ करोड २३ लाख ९९ हजार ३ सय ८१ रुपियाँ लागतमा चार वर्षअघि अस्पताल भवन निर्माण थालिएको हो ।

प्रेरा क्याराभान सुपर स्टार जेभि कालिकोटले भवन निर्माणका लागि २०७८ जेठ १० गते सम्झौता गरी २०८१ जेठ ३० गते सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको थियो । २०८१ श्रावण ३० गते सचिव स्तरीय निर्णय गर्दै २०८२ भदौ ३० गते सम्पन्न गर्ने गरी म्याद थप गरिए पनि भवन निर्माण नहुँदा नागरिकलाई उपचारमा समस्या भएको सेवाग्राही पूर्णबहादुर बडूवालले बताउनुभयो । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै समयमै भवन निर्माण गर्न आलटाल गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button