तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनको मात्रा र तीव्रता अनुमानभन्दा ठूलो रह्यो : सेना

काठमाडौँ । नेपाली सेनाले विश्वमा परिवेशमा देखिएको आन्दोलनका तुलनामा नेपालको जेनजी आन्दोलन अनुमान गरिएभन्दा तीव्र र व्यापक रहेको निष्कर्ष निकालेको छ । 

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा जेनजी आन्दोलनबाट सुरक्षा समस्या बढ्ने आकलन गरिए पनि  मात्रा र तीव्रता अनुमान गरिएभन्दा ठूलो रहेको जानकारी दिइयो ।

सेनाको युद्ध कार्य महानिर्देशक पवन जङ्ग थापाले जेनजी आन्दोलन विश्वव्यापी तरङ्ग देखिएकामा यहाँ भने अचानक र व्यापक रहेकाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयनका लागि सुरक्षाको वस्तुपरक विश्लेषण गरी आवश्यकताको सिद्धान्तका आधारमा अघि बढेको जानकारी दिनुभयो ।

त्यसपछिको परिस्थितिमा सेनाले न्यायपालिका, अन्य सुरक्षा निकाय र राष्ट्र सेवक कर्मचारीको सहयोग र समन्वयमा शान्ति र स्थिरता कायम राख्ने विषयमा  सन्तुलित ढङ्गले कार्य गर्दै आएको उहाँले बताउनुभयो । सोही विभागका निर्देशक मनोज थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न वस्तुगत ढङ्गले आवश्यक पहल गरेको स्पष्ट पार्नुभयो ।

आन्दोलनपछि अहिलेको अवस्था र परिणामबाटै सेनाको कस्तो खालको नियत रहेको थियो भन्ने आकलन गर्न सकिने बताउँदै उहाँले स्थिति सामान्यीकरण गर्न गरिएको बहुआयामिक प्रयासलाई वस्तुपरक ढङ्गबाट बुझ्ने र विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

सेनाको बहुआयामिक भूमिका रहेकाले अग्रपङ्क्तिमा रहेर नागरिकको जीवन रक्षा र उद्धारका कार्यमा खटिँदै आएको स्पष्ट पार्दै सहायकरथी थापाले सेनाले शान्तिपूर्ण निकासका लागि सबै पक्षसँग आवश्यक परामर्श गर्नुपर्ने आवश्यकता महसुस गरेर नै विभिन्न समूहसँग छलफल गरेको बताउनुभयो ।

उहाँले देश र जनहितका लागि अरू सबै सुरक्षा फौजसँग हातेमालो गरी काम गरिरहेको पनि जानकारी गराइयो । सञ्चारकर्मीको प्रश्नको जवाफमा सेनाले जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा चुनावका लागि केही सुरक्षा चुनौती भएपनि क्रमशः शान्ति सुरक्षाको वातावरण बन्दै जाने विश्वास उहाँको थियो । चुनावका लागि सुरक्षासम्बन्धी रणनीतिक योजना तयार गरी क्रमशः कार्यान्वयन गरिँदै लगिने सहायकरथी थापाले स्पष्ट पार्नुभयो ।

सेनाका प्रवक्ता राजाराम बस्नेतले मुलुकको प्रतिरक्षा, विश्वशान्ति,  वन्यजन्तु तथा पर्यावरण संरक्षण, पूर्वाधार विकास, ऐतिहासिक धरोहरको  संरक्षण तथा  आपत्कालीन उद्धारजस्ता कार्यमा सेनाले महत्त्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले गौरवमय इतिहास, पहिचान, परम्परा  तथा संस्कृतिसँग गहिरोसँग जोडिएको सेनाले राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, स्वाधीनता र एकताको रक्षा गर्दै आएको बताउनुभयो ।

त्यसअवसरमा यस वर्षको मनसुन  विपद् व्यवस्थापनका क्षेत्रमा संलग्न सबै सरोकारवाला पक्षसँगको सहकार्य, सहयोग र समन्वयमा प्रभावकारी कार्य भएकाले विगतका तुलनामा जनधनको क्षति न्यून गर्न सकिएको जानकारी दिइयो । मुलुकको सर्वाधिक महत्त्वपूर्ण राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेस दू्रतमार्गको हालसम्मको समग्र प्रगति करिब ४३ प्रतिशत रहेकाले तोकिएको मिति र बजेटमा आयोजना सम्पन्न गर्ने दृढता व्यक्त गरियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button