ठोङठोङ : भीरको बस्ती, त्रासको दैनिकी

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नम्बर–१ लामाबगरस्थित ठोङठोङका स्थानीय ढुङ्गाको भीरमा त्रासको दैनिकी बिताइरहेको बताउँछन् । प्राकृतिक रूपमा सुन्दर रहेको यो गाउँ पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाई छ ।
झन्डै १५ वर्ष अघि र २०७३ सालको पहिरोले गाउँका घरहरू बगाएपछि धेरैले गाउँ छोडेको तर आफूलगायत केही परिवार भने आर्थिक बाध्यताकै कारण दैनिक त्रास व्यहोरेरै पनि गाउँमै बस्न बाध्य भएको स्थानीय लाल बहादुर तामाङले बताउनुभयो ।
पहिरोले अड्किएका भीरको ढुङ्गाहरूसँगै ठोङठोङका तीन टोलमा अहिले १४ घरधुरीका परिवार बस्दै आएका छन् । गाउँमा पहिरो खस्नु अघि ठोङठोङको तीन टोल ठोङठोङ, बैबुङ र कातोङमा ४२ घर धुरी रहेको स्थानीय बताउँछन् । पहिरोपछि धेरै घर परिवार लामाबगर, गोंगर, सिंगटी, जगत र चरिकोट स्थानान्तरण भएको स्थानीयको भनाई छ ।

“अहिले ठोङठोङमा पाँच घर, बैबुङमा सात घर र कातोङमा दुई घर गरी १४ घर परिवार मात्र रहेको स्थानीय लाल बहादुर तामाङले बताउनुभयो । गाउँमा पहिरोले क्षति गरेपछि पैसा हुनेहरू अन्यत्र जमिन किनरे बसाई सरे हामी केही परिवार भने बाध्यताबस यतै थन्किएका छाँै”– लाल बहादुरले भन्नुभयो ।
गाउँमा खानेपानीको समस्यासँगै विद्यालय समेत टाढा रहेकोले बालबालिका पढाउन दुई घण्टाको दूरीमा पर्ने लामाबगर लैजाने बाध्यता रहेको ठोङठोङ बैबुङका स्थानीय रिक्साङ तामाङले बताउनुभयो । लामाबगरमा पनि कक्षा पाँचसम्म मात्र रहेकोले त्यसपछि जगत वा चरिकोट राखेर पढाउनु पर्ने रिक्साङको भनाई छ । आर्थिक अभावले अन्यत्र लान नसकिए बालबालिकाले कक्षा पाँच पछि विद्यालय छोड्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
गाउँ नजिक स्वास्थ्य चौकी समेत नभएकोले कोही बिरामी भई हाले सवारी साधन नपाएको अवस्थामा बोकाएर सिंगटीसम्मै लानुपर्ने स्थानीय चरिमाया तामाङले बताउनुभयो । लामाबगरमा माथिल्लो तामाकोसी आयोजनाको ड्याम रहेकोले सिंगटीबाट लामा बगरसम्म सडक विस्तार भएपछि अहिले भने यातायातको सुविधा पाउन सकिएको स्थानीयको भनाई छ । अहिले गाउँबाट आधा घण्टा हिँडेपछि यातायात पाउन सकिने चरिमाया तामाङले बताउनुभयो ।
गाउँमा आलु, कोदो र मकै मात्र फल्ने र त्यो पछि तीन महिनाभन्दा बढी खान नपुग्ने भएकोले जीवनशैली निक्कै असहज रहेको रिक्साङ बताउनुहुन्छ । बर्षामा पहिरोको त्रासका कारण रातभरि अनिदै रहनुपर्छ त्यसमाथि गाउँमा उब्जनी समेत नहुने भएकोले गुजारा गर्नै कठिन रहेको रिक्साङको भनाई छ ।

गाउँमा केहीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनालगायत उत्तरका अन्य हाईड्रो पावरमा मजदुरी गरिरहेकोले बिहान– बेलुकाको गुजारा चलाइरहेको स्थानीय बताउनुहुन्छ ।
विगु गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष मेम बहादुर तामाङ ठोङठोङमा खानेपानी, शिक्षा र स्वास्थ्यको समस्या रहेको स्वीकार गर्दै त्यसको समाधानको लागि वडाले सक्दो पहल गरिरहेको बताउनुभयो । खानेपानीको लागि पटक–पटक पालिका र वडाबाट प्रयत्न भएको उल्लेख गर्दै यो पटक वडाले नै पाँच लाख छुट्टाएकोले ठोङठोङमा पानी पुग्ने वडा अध्यक्ष मेम बहादुर बताउनुभयो । वडा र पालिकाले ठोङठोङमा गुम्बालगायतमा समेत सहयोग गरेको उहाँले बताउनुभयो ।
ठोङठोङमा कोही बिरामी भए नेपाली काँग्रेसका नेता जीप छिरिङ लामाले वडाको मातहत रहने गरी उपलब्ध गराएको एम्बुलेन्सबाट स्वास्थ्य चौकीसम्म लगिदिने सुविधा दिइएको वडा अध्यक्ष मेम बहादुर तामाङको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्