तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सहित दुई मन्त्रीको शपथग्रहण सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशका नव नियुक्त मुख्यमन्त्री जितेन्द्र सोनार ( सोनल ) लाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

प्रदेश प्रमुख भण्डारीले मधेस प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथ ग्रहण समारोहमा पाँच दलको समर्थनमा नियुक्त हुनु भएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता सोनललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्रीको शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जितेन्द्र सोनारको सिफारिसमा नेपालको संविधानको धारा १६८ ( ९ ) बमोजिम प्रदेश प्रमुख भण्डारीले दुई जना विना विभागीय मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।  

यसरी शपथग्रहण गर्नेहरूमा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पट्टेल रहनु भएको छ । 

oplus_2

मधेस प्रदेशमा रहेका जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादीका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र नेकपा एकीकृत समाजवादी पार्टीका ७ गरेर कूल ५६ जनाको समर्थनमा मुख्यमन्त्री पदमा सोनल हिजो अवेर साँझ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त हुनु भएको थियो ।

पद तथा गोपनीयताको शपथग्रहण पछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनार ( सोनल ) ले जेन्जी आन्दोलनले उठाएको सुशासन, समृद्धि र आम जनतालाई सरल सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।

उहाँले सङ्घीयतालाई बलियो बनाउनका लागि नै अहिलेको गठबन्धन सरकार बनेको बताउँदै विगतका सरकारले गरेका राम्रा कामको निरन्तरता तथा नयाँ कामको थालनी गरिने बताउनु भयो । उहाँले बाकी सहयात्री दलहरूको तर्फबाट चाडै अन्य मन्त्रीहरूको नियुक्ति हुने बताउनुभयो ।  

शपथ ग्रहण कार्यक्रममा मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह पनि उपस्थित भएर नवनियुक्त मुख्यमन्त्री तथा मन्त्री द्वयको सफल कार्यकालका लागि शुभकामना दिनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button