दीपावली र छठको रौनक: रौतहटका घर–घरमा लिपपोत र रङरोगनको चटारो
रौतहट। दीपावली र छठ पर्व नजिकिँदै जाँदा रौतहटका बस्तीहरूमा अहिले उज्यालो रङ्गमा रङ्गिन थालेका छन् ।

यहाँका सर्वसाधारण घर लिपपोत र रङ रोगनको काममा व्यस्त छन् । घर वरिपरि सरसफाइ गरेर लिपपोत गर्दा लक्ष्मी प्रवेश गर्ने विश्वासका कारण यो बेला गाउँघरमा रङ रोगन गर्ने परम्परा अझै बलियोसँग जगेर्ना हुँदै आएको छ ।
“दीपावलीमा उज्यालो र सौन्दर्यको प्रतीकका रूपमा घर सिँगारिन्छ । यसले घरलाई आकर्षक त बनाउँछ नै, रमाइलो पनि हुन्छ,” गरुडा नगरपालिका–५ की गृहिणी हरपतिया देवी साह भन्छिन्, “सबै छिमेकी मिलेर घर लिपपोत गर्दा आपसी मेलमिलाप पनि बढ्छ ।”

रौतहटका ग्रामीण बस्तीमा अहिले महिलाहरू पालैपालो एक अर्काको घर लिपपोत र रङरोगनमा सघाउँदै देखिन्छन् । आपसी सल्लाह, हाँसो–ठट्टा र रमाइलोका साथ हुने यो कामले बस्तीमा पर्वको वातावरण झल्किन्छ ।
केही वर्ष अघिसम्म लिपपोतका लागि पहेँलो, कमेरे र कालो माटो लिन स्थानीय महिला टाढासम्म जाने गर्थे । तर अहिले नदी किनार क्षेत्र उत्खननका कारण त्यस्ता प्राकृतिक रङका माटो पाइन छाडेका छन् । त्यसैले बजारमा पाइने चुन र रासायनिक रङको प्रयोग बढेको वृन्दावन नगरपालिका–१ की ५१ वर्षीया किसना देवी पटेल बताउँछिन् ।
दसैँमा व्यस्तताका कारण लिपपोत गर्न नभ्याएका गृहिणीहरू अहिले दीपावली र छठअघि घर सिँगार्नमा जुट्नुभएको छ । बस्ती बस्तीमा घरको भित्तो चम्किँदै गर्दा रौतहट अहिले साँच्चिकै उज्यालो र उत्सवमय बनेको देखिन्छ ।
दीपावलीपछि हुने छठ पर्वका लागि पनि यही बेला गरिएको लिपपोत घरमा रहेको विभिन्न सामाग्री सरसफाइ र रङरोगनलाई शुभ मानिन्छ । जसका कारण रौतहटका गाउँदेखि सहरसम्म अहिले घर–घरमा उत्साह र तयारीको रौनक देखिन थालेको छ ।
प्रतिक्रिया राख्नुहोस्