मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँचमध्ये दुई पूर्ण रूपमा बन्द
सिन्धुपाल्चोक । मेलम्ची क्षेत्रमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक, पोलिक्लिनिक तथा क्लिनिकहरूमा मंगलबार संयुक्त अनुगमन गरिएको छ। अनुगमनमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीको सहभागिता रहेको थियो।
अनुगमनको क्रममा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका विभिन्न संस्थामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो। उहाँका अनुसार, केही संस्थालाई भने मापदण्ड पुरा गर्न समयसीमा (म्याद) दिइएको छ।

जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७, बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन २०८१ र प्रदेश स्वास्थ्य सेवा नियमावली (दोस्रो संशोधन) २०८१ का प्रावधानअनुसार मापदण्ड नपुरा गर्ने संस्थामाथि आवश्यक कारबाही गरिने बजगाईंले स्पष्ट पार्नुभयो।
अनुगमन टोलीले मेलम्ची बजारमा रहेका इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि. र जुगल डेन्टल क्लिनिक लाई आवश्यक अनुमति तथा मापदण्ड नपुगेको पाइएपछि पूर्ण रूपमा बन्द गरेको जनाएको छ।
यस्तै, विगतमा विनायक पोलिक्लिनिकको नाममा सेवा दिइरहेको र हाल विनायक फार्मेसी को नाममा सञ्चालित फार्मेसीले अवैध रूपमा सञ्चालन गर्दै आएको ल्याब तथा डेन्टल सेवा पनि पूर्ण रूपमा बन्द गरिएको छ।
मेलम्ची पोलिक्लिनिक प्रा.लि. ले भने संस्था नवीकरणका लागि आवश्यक केही मापदण्ड नपुगेको पाइएकाले ३० दिने म्याद दिइएको बताइएको छ।
त्यस्तै, शिव शक्ति स्वास्थ्य क्लिनिक मा मापदण्ड विपरीत सञ्चालित ल्याब तथा एक्स–रे सेवा बन्द गरिनुको साथै केही शंकास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको अनुगमन टोलीले जनाएको छ।
अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानुनअनुसार अनुमति प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने, बिरामीको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्न नपाइने भन्दै कडा चेतावनीसमेत दिएको छ। साथै, जिल्लाभर अनुगमनलाई थप तीव्रता दिने तयारी गरिएको जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्